तल्लो तहका कर्मचारीको सम्मान गर्न मन्त्री चौधरीको निर्देशन

भाद्र ०२,२०७९

-आस्था न्यूज

भदौं २, २०७९ काठमाडौं ।
शहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले त्यस्तो धारणा राखेका हुन् । 
 
नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठूलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरूले काम नगरे के होला ? उनीहरूबिना के अस्पताल सफा हुन सक्ला ? तपाईंहरूले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला, तर तपाईंहरूलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरूलाई अपमान नगर्नुस् । उनीहरूले हेपिएको महसुस नगरुन् ।’
 
डाक्टर नर्सहरूले दशैं, तिहार, चाडबाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरेका मन्त्री चौधरीले बिरामीले दुःख नपाउन्, उनीहरूको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिए । 
 
नवनिर्मित भवनको शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।