एकीकृत समाजवादीले निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने, तोक्यो ८ मापदण्ड

भाद्र ०२,२०७९

-आस्था न्यूज

भदौं २, २०७९ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ ।
 
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ ।
 
प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ । यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ ।
 
उम्मेदवार बन्नका निम्ति पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ । यस्तै, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ । समाजवादीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ । चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ ।
 
समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने बताएको छ । उम्मेदवार छनौट गर्दा समावेशी समानुपातिक आधारमा गरिने समाजवादीको निर्णय छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ ।
 
यस्तै, जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने समाजवादीको सचिवालयको निर्णय छ ।