सत्ता गठबन्धनले कात्तिक ४ गतेबाट प्रदेशस्तरीय संयुक्त भेला गर्ने

आश्विन २९,२०७९

-आस्था न्यूज

असोज २९, २०७९ काठमाडौं ।
सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता-कार्यकर्ता भेला गर्ने भएको छ। चुनावी तालमेल गरेका गठबन्धन दलले आसन्न निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेका हुन् ।
 
भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।
 
गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ।
 
सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।