बर्दियामा डुंगा पल्टियोः सबै यात्रु सकुशल, मोटरसाइकल र स्कुटी बेपत्ता

आश्विन ३०,२०७९

-आस्था न्यूज

असोज ३०, २०७९ काठमाडौं ।
मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आइतबार दिउँसो डुंगा पल्टिएको छ । १३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । 
 
दुई वटा मोटरसाइकल, स्कुटी भने बबई नदीमा डुबेकोले फेला पार्न सकिएको छैन । यात्रुले बोकेको १० वटा मोबाइल पनि बबई नदीमा डुबेको छ ।
 
डुंगामा क्षमताभन्दा बढी यात्रु र मोटरसाइकल राख्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । डुबेका मोटरसाइकल र स्कुटीको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक बुढामगरले बताए ।