अमेरिकाले आफ्नो भण्डारबाट डेढ करोड ब्यारेल कच्चा तेल निकाल्ने

कार्तिक ०३,२०७९

-आस्था न्यूज

कार्तिक ३, २०७९ काठमाडौं ।
अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट आगामी डिसेम्बरमा एक करोड ५० लाख ब्यारेल तेल निकाल्ने भएको छ ।
 
रुस–युक्रेन युद्धका कारण उर्जा संकट चुलिंदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति उक्त घोषणा गर्नुभएको हो ।
 
कुल एक करोड ८० लाख ब्यारेल तेल रणनीतिक भण्डारबाट निकाल्ने घोषणा बाइडेनले गर्नुभएको छ । तर डिसेम्बरमा चाहीँ एक करोड ५० लाख ब्यारेल मात्रै निकालिने छ ।
 
आफ्नो उक्त घोषणाले ओपेकलगायत अन्य तेल उत्पादक देशहरुका कारण उत्पन्न मूल्य वृद्धि रोकिने र इन्धन बजारमा स्थिरता आउने विश्वास बाइडेनको छ ।
 
अमेरिकाले राष्ट्रिय संकट तथा युद्धकालिन अवस्थामा प्रयोग गर्ने गरी टेक्सस र लुजियानामा बनाएका भूमिगत भण्डारमा अहिले ४० करोड ब्यारेल तेल रहेको अनुमान छ ।
 
राष्ट्रपति बाइडेनले तेल उत्पादक कम्पनीहरुले अनावश्यक नाफा लिएको भन्दै कम्पनीहरुको आलोचना पनि गर्नुभएको छ । बाइडेनले अमेरिकी तेल कम्पनीहरुलाई भन्नुभएको छ, ‘तिमीहरुले लिएको नाफा लाभांश वा थप तेल थुपार्ने प्रयोगमा लगाउन पाउने छैनौ, थप उत्पादन र प्रशोधनमा लगानी गर्नु पर्नेछ ।’