नेप्सेमा ५० अंकमाथिको वृद्धि, अर्ब माथिको कारोबार

कार्तिक १५,२०७९

-आस्था न्यूज

कार्तिक १५, २०७९ काठमाडौं ।
 
लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो ।  समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत (२.९९ प्रतिशत) ले बढेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको छ ।
 
उसो त नेप्से सूचकले हाफ सेन्चुरी क्रश गरेको बजारमा आज अर्ब माथिको कारोबार भएकोम छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर कारोबार भएको छ । 
 
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.५ प्रतिशतले बढेको छ भने अन्य समूहको ५.२८ प्रतिशतले, ट्रेडिङको ४.५६ प्रतिशतले, हाइड्रोपावर ४.३७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक ४.१७ प्रतिशतले बढेको छ । 
 
यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने एनसीसी डिभेन्चरका लगानीकर्ताहरुले ३.९१ प्रतिशतले गुमाएका छन् ।