पृथ्वी जयन्ती इतिहासको गौरवशाली दिन- राजेन्द्र लिङ्देन

पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा चियापान कार्यक्रम

पौष २६,२०७९

-आस्था न्युज

२६ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यक्रममा सबै सांसदलाई निम्तो गरेका छन् ।

 

अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले भने ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’  ।

 

 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

अध्यक्ष लिङ्देनले आफ्नो धारणा राख्दै भने ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।’

 

पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राख्दै कार्यक्रममा सबै माननीयहरुलाई चुलो निम्तो समेत दिएका छन्  । राप्रपाले पृथ्वी जयन्तीको अवसरमा पुष २८ गते बिभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।