हावाहुरीको जोखिमपूर्ण महिनाः जोखिमबाट बच्न केहि उपायहरु अपनाउँ

चैत्र ०२,२०७९

-आस्था न्यूज

चैत २, २०७९ काठमाडौं । 
अहिले प्रिमनसुनको समय हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हावाहुरी चल्ने समय पनि हो ।
 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुन, चैत र वैशाखलाई हावाहुरीका कारण विशेष जोखिमपूर्ण महिनाका रूपमा लिइन्छ । हावाहुरी आउन रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति काम गर्न सकिने प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका अनुसार नेपालमा घटिरहने प्राकृतिक विपद्मध्ये हावाहुरी पनि एक हो । प्राधिकरणले हावाहुरीको जोखिमबाट जोगिन विभिन्न उपाय अपनाउन सकिने जनाएको छ ।
 
प्राधिकरणका अनुसार यी हुन् हावाहुरीको जोखिमबाट जोगिने उपाय
 
१. हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउने ।
२. फुसको छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँध्ने ।
३. घर बनाउँदा नै हावाहुरीप्रतिरोधी छानाको निर्माणमा ध्यान दिने ।
४. जस्तापाताको छानालाई ‘जे हुक’ले कसेर बाँध्ने ।
५. घरको छतमा गमला, इँटाजस्ता सामग्रीलाई खुला नराख्ने, फलामको रेलिङ वा नझर्ने गरी व्यवस्थित तरिकाले मात्र राख्ने ।
६. हावाहुरी चलेको बेला घरबाहिर नजाने ।
७. हावाहुरी चलेको समयमा झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्ने ।
८. यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चले सुरक्षित स्थानको खोजी गरेर बस्ने ।
९. बजार तथा भीडभाडमा भएको बेला हावाहुरी चले भागदौड नगर्ने, विस्तारै सुरक्षित स्थानमा गएर बस्ने ।
१०. खुला ठाउँमा भएको बेला ठूलो हावाहुरी चले थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परेर बस्ने ।
११. हावाहुरी चल्दा रुखमुनि र कमजोर भौतिक संरचना भएको स्थानमा नबस्ने ।
१२. हावाहुरीको समयमा खुला ठाउँमा आगो नबाल्ने ।