कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्तः निधि

चैत्र ०२,२०७९

-आस्था न्यूज

चेत्र २, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट नेकपा माओवादी केन्द्र मुक्त भएको बताउनुभएको छ ।
 
बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय गरेको बताउनुभयो ।
 
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भएपनि विश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उहाँको भनाइ थियो । 
 
गठबन्धनकारी दलहरूबीच राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु हुने बताउनुभयो ।
 
सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने समेत उहाँले बताउनुभयो । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने उहाँको तर्क छ ।