‘प्रेमा’ को ‘फूल यो चुँडेर’ सार्वजनिक

चैत्र ०२,२०७९

-आस्था न्यूज

चेत्र २, २०७९ काठमाडौं ।
चलचित्र  ‘प्रेमा’ को ‘फूल यो चुँडेर’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।
 
आगामी चैत १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको उक्त गीत बुधबार सार्वजनिक भएको हो ।
 
सार्वजनिक गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ । गीतमा चलचित्रका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् ।
 
त्रिकोणात्मक प्रेमको पीडालाई गीतमा दर्शाइएको छ । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ ।
 
त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौं, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ । चलचित्रमा सृष्टि, अरुण र शुभेच्छासँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेतलगायतले अभिनय गरेका छन् ।
 
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।