इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका ज्यान मुद्दाका फरार व्यक्ति युएईबाट पक्राउ

चैत्र ०३,२०७९

-आस्था न्यूज

चैत ३, २०७९ काठमाडौं । 
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी  नेपाल ल्याइएको छ ।
 
कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ ।
 
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 
 
व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो । 
 
चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो ।