आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घट्यो

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं ।
श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताउनुभएको छ ।
 
मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउने छन् ।
 
अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।