अमरवेलरुपी राजनीति र नेतृत्व

बैशाख १५,२०८०

-यज्ञप्रसाद भट्टराई

  • यज्ञप्रसाद भट्टराई

भनिन्छ आज विश्वको शासन व्यवस्था हेर्दा प्रजातन्त्र एवं लोकतन्त्र जस्तो उत्तम शासन व्यवस्था एवं प्रणाली अन्य कुनै पनि छैन। प्रजातन्त्रका चार खम्बा भनी स्वतन्त्रता, समानता, आवधिक निर्वाचन र जनताको समृद्धिलाई मानिन्छ। समृद्धि नभएको प्रजातन्त्र अर्थात भोको पेटको प्रजातन्त्र भिडतन्त्रमा परिणत हुने खतरा रहन्छ। प्रजातन्त्रलाई जनमैत्री एवं जनमुखी बनाउन तथा देश र जनतालाई समृद्ध बनाउन राननीतिक दल र नेताको महत्वपूर्ण भूमिका रहन्छ। राजनीतिक दल प्रजातान्त्रिक संस्था हुन। प्रजातान्त्रिक व्यवस्थामा दल जति मजवुत, व्यवस्थित, पारदर्शी र जनताप्रति उत्तरदायी हुन्छन प्रजातन्त्र त्यतिनै सबल हुन्छ। 

यस लेखमा दुईवटा प्रसङगबाट विचार राख्न अनुमति माग्दछु । पहिलो प्रसङग यसप्रकार छ। ईम्युनअल कान्ट ठूला दार्शनिक थिए । उनी साँझपख कतैतिरबाट आफ्नो घरतर्फ आउदै थिए । एउटा वालकले उनलाई बाटैमा रोकेर भन्यो, अङकल म तपाईको घरमा गएको थिए, भोली बनभोज जानु पर्नेछ, तपाईसँग एउटा क्यामरा माग्न गएको थिए, तपाई घुम्न जानु भएको रहेछ । तँपाईका कामदार घरमा भेटिए, उनले मेरो भनाईलाई अस्वीकार गरिदिए, अङकल तपाईको कामदारले यसरी क्यामरा दिन अस्वीकार गर्नु के उचित होर? त्यो बालक रिसमा थियो। ईम्यानुअल कान्टले भने, विलकूल बेठीक हो, म हुँदाहुदै अस्वीकार गर्ने त्यो कुन कामदार रहेछ? आउ म सँगै हिड भनी उनले भने। वालक निकै खुसी भयो ,उनीहरु दुवैजना कान्टको घरमा पुगे । कान्टले कामदारलाई हप्काई दप्काई गर्दै भने, म हुँदाहूदै अस्वीकृत गर्ने तिमी को हौ ?  त्यस वालकसंग पनि भने, तिमी नै भन त म हुँदाहुदै अस्वीकार गर्ने कामदार त्यो को हुन सक्छ ?  त्यो वालकले भन्यो, विलकूल ठीक गरेन अङकल त्यो कामदारले, मसङ्ग बडो असभ्य किसिमले व्यवहार गर्यो । तब कान्टले त्यो वालकसित भने अब म तिमिलाई भन्छु सुन, क्यामरा त म सङ्ग छैनू । त्यो वालकको छिनभरको त्यो खुसी, त्यो पाउने आशा, त्यो हल्ला आखिरमा सबै व्यर्थ भयो किनभने क्यामरा त ईम्यानुअल कान्टसङ्ग पनि रहेनछ ।

त्यसैगरी दोस्रो प्रसङ्ग यसप्रकार छ । अमरवेल जसलाई नागवेली वा आकासे वेल पनि भनिन्छ। अमरवेलले वृक्षलाई समातेको हुन्छ । अमरवेलले समातेको बृक्ष सुक्न थाल्छ तर त्यो अमरवेल मौलाउन र फैलिन थाल्छ । अमरबेल जराविहिन हुन्छ त्यसलाई जराको आवश्यकता पर्दैन किनकी त्यसले अरुको शोषण गरेर बाँच्छ । बृक्षलाई सुकाउन थाल्छ र आफूचाँही फैलिन मौलाउन थाल्छ ,बृक्ष मर्न सक्छ तर अमरवेल मर्दैन, जबसम्म त्यसले अरुको शोषण गर्ने अवशर पाँउछ तबसम्म अनन्तकालसम्म बाँच्छ। अमरवेलको नत जरा नै हुन्छ नत विज नै हुन्छ । जरा र विज नभएको त्यो नमरी शोषणको आधारमा बाँचिरहन्छ । अमरवेलले बृक्षलाई पुरै मार्दैन किनभने पूरै मार्योभने आफू पनि खान नपाएर मर्छ । त्यसले त्यति मात्र व्यवहार गर्छ जति गर्दा आफ्नो स्वार्थ र आवाश्यकता पूरा हुन्छ ।(प्रसङ्ग साभार सत्गुरु ‌ओशोको शिवसुत्र नामक प्रवचनबाट)

हाम्रो देशको राजनीति र त्यो राजनीति गर्ने दलका नेता एवं वर्षौ शासन प्रकृयामा सहभागी भई कार्यकारी नेतृत्व गरेका राजनीतिक नेतृत्वको प्रवृति चरित्र र व्यवहार एवं शैली ईम्यानुअल कान्टले कामदार र वालकसङ्ग गरेको व्यवहार तथा अमरवेलको जस्तै रहेको पाईन्छ ।

नेपालमा एकसय चार वर्षसम्म रहेको राणा शासनको अन्त गर्दा होस वा तीस वर्षसम्म रहेको पञ्चायती व्यवस्था फल्दा होस वा दश वर्षे सशस्त्र जनयुद्ध गर्दा होस वा राजतन्त्रको अन्त गर्दाहोस यी समयमा राजनीतिक दल तथा त्यसका नेताहरुले देशमा भ्रष्टाचारको अन्त गर्ने, रोजगारी सिर्जना गर्ने, वेरोजगारको अन्त गर्ने,नागरिकको जिवनस्तर सुधार्ने, सामाजिक असमानता र विभेद हटाउने, उद्योग कलकारखाना स्थापना गर्ने ,देशको विकास गरी देशलाई समृद्ध वनाउने समेतका आश्वाशन दिएर, भाषण गरेर जनतालाई लोभ्याएको हुँदा नागरिक पनि विश्वासमा परी राजनीतिक दल तथा नेताहरुलाई साथ दिए । जसको परिणामस्वरुप राणाशासन र पञ्चायती व्यवस्थाको पनि अन्त भयो र गणतन्त्रको स्थापना पनि भयो । शासन व्यवस्था र प्रणाली त फेरियो  तर हाम्रो चरित्र, व्यवहार , शैली फेरिएन । जनताको अवस्था जस्ताको तस्तै रह्यो।  आजको  हाम्रो देशको अवस्था हेर्दा चालिस लाख भन्दा बढी नेपाली नागरिक कामको खोजीमा विदेसिएका छन। दिन प्रति दिन रोजगारीको खोजीमा विदेश जानेको संख्या बढदो छ । देशमा भ्रष्टाचार गर्ने र अकुत सम्पति आर्जन गर्नेको संख्या बढदो छ । उद्योगधन्दा र कलकारखाना वन्द भईरहेका छन ।व्यपार घाँटा बढेर दिन प्रतिदिन आकाशिएको छ। विदेशबाट आयातित सामान वाहेक देशको उत्पादन देखिदैन । गाँउ रित्तिदै छन, शहरमा मान्छे भरिदैछन । बनेका शहर अस्तव्यस्त छन, योजनवद्ध विकास छैन । खेतियोग्य जमिन कंक्रिटमा परिणत भईरहेका छन । सार्वजनिक एवं सरकारी जग्गा व्यक्तिले कव्जा गर्दै गईरहेका छन । सरकारी अस्पताल तथा स्वास्थ्य चौकी बनेका त छन तर त्यहा गुणस्तरीय सेवा छैन । पिच गरिएका सडक गुणस्तरहिन र धुलाम्मे देखिन्छन । समाजमा हुने र नहुनेको खाडल बढिरहेको छ।गाँउगाँउमा जथाभावी डोजर लगाउनाले वनजङ्गल विनाश भईरहेको छ। देशको आर्थिक अवस्था खस्केर अव कर्मचारीलाई तलव खुवाउन समस्या परिरखेको देखिन्छ ।जताततै विकृति एवं विसङगति बढदै गईरहेकोले नागरिकहरु निराश हुँदै गईरहेको अवस्था छ ।

उल्लिखित समस्या समाधान गरेर देशमा समृद्धि ल्याउने आश्वासन दिएर हरेक पटक दलहरु निर्वाचनमा गएका हुन्छन । हरेक पटक आन्दोलन गर्दा यसप्रकारका एजेण्डाहरु भाषणमा उठाएको सुनिन्छ। घोषणापत्रमा सबै कुराहरु राखिएका हुन्छन । भाषण गर्दा राम्रा राम्रा कुराहरु गरेको सुनिन्छ । यसर्थ राजनीतिक दल एवं नेतागणहरुले अघि अघि राम्राराम्रा कुरा गर्ने नारा दिने पछिपछि अर्थात कार्यान्वयन त्यसको ठीक विपरित गर्ने खालको दोहोरो चरित्र देखिन्छ ।यस्तो खालको कार्यले गर्दा जनतामा जुन आशा र भरोसा दल तथा नेताहरुमा थियो त्यो क्रमश स्खलन हुदै गईरहेको पाईन्छ । जुन भरोसा गरेर समयसमयमा जनताले साथ दिईरहेका थिए त्यो भरोसा क्रमश टुटदै गईरहेको छ। दल र नेताले वोले अनुसारको  काम र व्यवहार नहुँदा जनता माथि वेईमान भईरहेको महशुस गरिरहेका छन । 

राजनीतिक दल र नेताहरु आज अमरवेलरुपी चरित्रका हुँदै गईरहेका छन । उनीहरुले राष्ट्र हित, सार्वजनिक हित र जन हितलाई प्राथमिकतामा राख्नुको साटो आफू , आफ्नो परिवार, आफ्नो दलको हितभन्दा माथि उठन सकेका छैनन । जनताको समृद्धि, देशको आर्थिक, सामाजिक विकास, नागरिकको मौलिक हकको कार्यान्वयनको विषयलाई वेवास्ता गर्दै गईरहेको महशुस नागरिकले गरिरहेका छन।सर्वसाधारणको जिवनस्तर दिनप्रतिदिन खस्कदै जाने दलका केही नेताहरु र सीमित व्यक्तिहरु जसको राज्यसंयन्त्रमा र राज्यको स्रोतसाधनमा हालिमुहाली छ उनीहरुको जिवनस्तर उक्सदै जाने अवस्थाले व्यापक असन्तुष्टि बढदो छ । अब पनि यस्तो खालको अवस्थालाई सहिरहनु भनेको आफू र आफ्नो सन्ततिको लागि वेईमान गर्नु सरह हो भन्ने अनुभूत सर्वसाधारण जनतालाई हुन थालिसकेको छ । ओशो भन्नुहुन्छ राजनीति महत्वकाँक्षाको खेल हो अर्थात आफू पहिलो हुने खेल हो। जब व्यक्ति महत्वकाँक्षी हुन्छ उसले आफू बाहेक अरुलाई हेर्दैन । महत्वकाँक्षी व्यक्ति हिँस्रक हुन्छ । राजनीतिमा जो हिँस्रक वेईमान हुन्छ उही अघि जान्छ । राजनीतिमा उही जित्छ जो सबसेबडा वेईमान हुन्छ । जवतक राजनीति सर्वैसर्वा हुन्छ तवतक मनुश्यको जीवनमा नत समृद्धि आउछ नत शान्ति र आनन्द नै हुन्छ। 

हाम्रो देशको अहिलेको अवस्था र हाम्रा राजनीतिक दल र ति दलका नेताहरुको प्रवृति, चरित्र व्यवहार तथा भनाई र गराईको असङ्गती हेर्दा उनीहरुमा नत कुनै सिद्धान्त, कार्यक्रम र योजना  नै छन।सत्तामा गएर के गर्ने रु कसरी गर्नेरु कहिले गर्नेरु भन्ने खालका नीति, योजना र कार्यक्रमहरु छैनन । पटकपटक सत्तामा गएका नेताहरुको कार्यशैलीले पुष्टि गरिरहेको छ । आफू सत्तामा गएपछि के गर्नेरु कसरी गर्ने रु भन्ने खालको नीति, योजना र कार्यक्रमको पहिले देखि नै तयारी हुनु पर्ने थियो त्यो भए गरेको देखिदैन।मन्त्रिले अधिकाँश समय आफ्ना मन्त्रालयका काममा, नीति योजना वनाउनमा र मन्त्रालयको सुधारमा दिनुपर्ने थियो तर त्यो प्राथमिकतामा परेको देखिदैन ।

राजनीति भनेको खासगरी नागरिकको सुरक्षा कायम गर्ने, नागरिकका मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति हो । राजनीति राज्यको शासन व्यवस्थासंग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । सवै नीतिको मूल नीति एवं मियो नै राजनीतिलाई मानिन्छ । नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति एवं कुनै समाजमा नेतृत्व दिन सक्ने अगुवा हो। कुनै राजनीतिक दल वा जनसमुदायलाई  असल बाटो देखाउने, नेतृत्व गर्ने, बाटो बनाईदिने व्यक्तिलार्इ नेता भनिन्छ । नेताले नेतृत्व गर्ने हो । नेतृत्व भनेको कुनै दल वा जनसमुदायको समुदायिक कल्याण गर्ने कार्य हो । नेताले गर्ने कार्य एवं अगुवाले गर्ने कार्यलाई नै नेतृत्व भनिन्छ । राजनीतिक दल  नेता तथा जनताका प्रतिनिधि एवं उम्मेदवार र नेतृत्व कर्तामा महत्वपूर्ण योग्यता एवं गुण हुनु पर्दछ। प्लेटोले शासक योग्य ,लायक सही व्यक्ति हुनुपर्छ भनेका हुन। कुनै नयाँ कुराको खोजमा या नौलो सिद्धान्तको प्रतिपादनमा सवैभन्दा पहिले सफल हुने कार्य नै नेतृत्व हो । नेतृत्व गर्ने नेता गतिशील, सक्रिय, उर्जावान, सशक्त, कर्मठ, निष्ठावान, चरित्रवान , क्रियाशील, सिर्जनशील, दुरदर्शी ,युवा चित्त भएको हुनुपर्दछ भन्ने मान्यता छ। वेन्जामिन फ्रेङकलनले वुद्धिमान र असल मानिसले शासन गर्नुपर्ने वताएका छन । जेम्स विल्सनले प्रतिभाशाली र ईमान्दार व्यक्तिले शासन गर्नुपर्ने भनेको पाईन्छ। त्यसैगरी:Mark SKousen ले “हामीले हाम्रा राजनीतिक नेतालाई कहिल्यै परिवर्तन गर्न सक्दैनौ जवसम्म हामीले उनीहरुलाई चुन्ने मानिसलाई परिवर्तन गर्दैनौ ” भनी भनेका छन। 

तसर्थ हामी जनताले अव अमरवेलरुपी चरित्र र व्यवहार भएको राजनीतिक दल र नेतालाई राजनीति एवं देशको शासन प्रणालीमा हालीमुहाली गर्ने ठाँउ दिईरहयौ र पाखा लगाएनौ भने हाम्रो र देशको अवस्था अवश्य पनि अमरवेलले चुसेको र शोषण गरेको वृक्ष जस्तै हुनेछ।हामी नागरिक दिन प्रतिदिन सुकेको वृक्ष जस्तै हुने छौ , अमरवेल झाङगिने छ फैलिने छ। हामीले समयमै होस र विवेक पुर्याएर असल ,ईमान्दार, योग्य तथा नयाँ सोँच चिन्तन भएको साथै देश र जनताको विकास गर्ने नीति, योजना र कार्यक्रम भएको व्यक्तिलाई दलको नेतृत्वमा छनोट गरौ र त्यस्ता खालका जनप्रतिनिधिलाई निर्वाचित गरी  नेतृत्व सुम्पने गरौ।प्रजातन्त्रको विकल्प छैन र प्रणाली आफैमा खराव पनि हुदैन । हामी सवै रुपान्तरण हुनुपर्छ परिस्थितिलाई वदल्नको लागि पहिला हाम्रो आफ्नो मनस्थिति वदलिनु एवं रुपान्तरण हुनु जरुरी छ ।असक्षम व्यक्ति तथा पटकपटक कार्यकारी नेतृत्व प्राप्त गरेर पनि कुनै आशा जगाउन नसक्नेका पछाडि अन्धभक्त भएर लाग्नु पनि आफु र आफ्ना सन्ततिमाथिको वेईमानी हुनेछ । समयमै आँखा खोलौ नत्र पछि पछुताउनुको अर्थ हुने छैन।