आइतवार पनि शेयर बजार हरियाली

जेठ ०७,२०८०

-आस्था न्यूज

जेठ ७, २०८० काठमाडौं ।
शेयर बजार लगातार चौथो दिन आज आइतवार पनि बढेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ । होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।
 
बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
 
आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।