उपत्यकाका सम्पदा घुम्न आजदेखि निःशुल्क सम्पदा बस संचालन (फोटो सहित)

जेठ ०९,२०८०

-आस्था न्यूज

जेठ ९, २०८० काठमाडौं ।
काठमाडौँ उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आएको छ ।
 
काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित ‘सम्पदा बस’ सेवा सञ्चालनमा आएको हो ।
 
नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुईबटा बिद्युतीय बस आज ललितपुर महानगरपालिकाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन ।
 
बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए ।
 
पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क ९ललितपुर महानगरपालिका नजिक०,महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।
 
फर्किदा तारागाँउ संग्रहालय, बौद्ध, चावहिल चोक,नारायण गोपाल चोक, गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार कालीमाटी कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ । यो रुटमा दिनमा ५ सय रुपैयाँ तिरेर दिनभर यात्रा गर्न सकिने गरी भाडादर प्रस्ताव गरिएको छ । भाडा स्वीकृत नभएसम्म सेवा निःशुल्क दिइने साझा यातायातले जनाएको छ ।
 
उक्त बस मार्फत अब पर्यटकहरुलाई तत्काल निःशुल्क रुपमा काठमाडौं उपत्यकाका सम्पदाहरु देखाइने छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा आज मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन गरिएको हो ।
 
उक्त बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। 

No description available.