शरणार्थी प्रकरणमा नेता, नाता र बार्दलीका मान्छेलाई नछाडियोस्ः गगन थापा

जेठ १०,२०८०

-आस्था न्यूज

जेठ १०, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले एकपछि अर्को गर्दै आइरहेका नामले प्रकारले लाज पनि लजाएको उनको टिप्पणी छ ।
 
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘कोको परेको हो, कोको नपरेको हो सुन्दासुन्दै हाम्रो वरिपरि भएका, देखिरहेका, जिम्मेवारीमा रहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि भन्नेजस्तो लाग्न थालेको छ ।’
 
तर यसमा सरकारको परीक्षा रहेको उनको भनाइ छ । सरकार पछि न्यायालयको परीक्षा थापाले बताए ।  ‘अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ’, थापाले भने, ‘अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन । 
 
सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर मात्रै पाउँदैन । न्यायको अनुभूति हुनुपर्छ ।’
 
उनले यो अपराधमा संलग्न भएकाहरूमाथि एक एक छानबिन गरेर कानुनी कठघरामा उभ्याइनुपर्नेमा उनले जोड दिए । ‘चाहे त्यो घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस्, चाहे नाता होस्, चाहे त्यो सलाम गर्ने होस्, सलामी लिने होस् एक जना मान्छे पनि छुट्नु हुँदैन’, थापाले भने, ‘दूधको दूध पानीको पानी हुनुपर्छ ।’ सरकारले गरेको अनुसन्धानको प्रक्रिया फेयर भयो भने जनस्तरबाट वाहवाही हुने भन्दै थापाले नत्र  प्रश्न उठ्ने धारणा राखे ।