पश्चिम रूकुममा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु

जेठ ११,२०८०

-आस्था न्यूज

जेठ ११, २०८० काठमाडौं ।
पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका ८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो।
 
सानीभेरी ५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।
 
‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट ८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।
 
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रूकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।
 
मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए।