एक तर्फ यसमा वैदिक तथा पुराणकालीन देवी-देवताहरुको पूजा-अर्चना हुन्छ भने अर्को तर्फ कापालिक र अवधूतहरु द्वारा अत्यन्त भयावह कर्मकाण्डीय आराधना पनि गरिन्छ । साथै एक तर्फ भक्ति रसले ओतप्रोत भक्तहरु छन् भने अर्को तर्फ अनीश्वर-अनात्मवादी र यहाँ सम्म कि नास्तिक पनि देखिन्छन् । यदि गहिराईले अन्वेषण गरियो भने हिन्दू धर्ममा सर्वथा विरोधी सिद्धान्तहरुको उत्तम एवं सहज समन्वय भएको पाइन्छ । यो हिन्दू धर्मावलम्बिहरुको उदारता, सर्वधर्मसमभाव, समन्वयशीलता तथा धार्मिक सहिष्णुताका श्रेष्ठ भावनाको नै परिणाम र परिचायक हो ।
हिन्दू धर्मको स्रोत
हिन्दू धर्मको परम्पराहरुका अध्ययन गर्नका लागि हजारौं वर्ष पछि वैदिक कालमा दृष्टिपात गर्नुपर्ने हुन्छ । हिन्दू धर्मको परम्पराहरुका मूल वेद नै हुन् । वैदिक धर्म प्रकृति-पूजक, बहुदेववादी तथा अनुष्ठानपरक धर्म थियो । यद्यपि त्यस कालमा प्रत्येक भौतिक तत्वका आफ्नै अधिष्ठातृ देवता या देवीको मान्यता प्रचलित थियो, तर देवताहरुमा वरुण, पूषा, मित्र, सविता, सूर्य, अश्विन्, उषा, इन्द्र, रुद्र, पर्जन्य, अग्नि, बृहस्पति, सोम आदि प्रमुख देवताहरु थिए ।
यी देवताहरुको आराधना यज्ञ तथा मन्त्रोच्चारको माध्यमले गरिन्थ्यो । मन्दिर तथा मूर्तिहरुको अभाव थियो । उपनिषद् कालमा हिन्दू धर्मको दार्शनिक पक्षपनि विकसित भयो । निर्गुण तथा सगुणको पनि अवधारणाहरु उत्पन्न भए । नवौं देखि चौधौं शताब्दीको मध्य विभिन्न पुराणहरुको पनि रचना गरियो । पुराणहरुमा पांच विषयहरु (पंच लक्षण) को वर्णन छ, यथा-
सर्गश्च प्रतिसर्गश्च वंशो मन्वंतराणि च ।
वंशानुचरितं चैव पुराणं पंचलक्षणम् ॥
१. सर्ग (जगतको सृष्टि)
२. प्रतिसर्ग (सृष्टिको विस्तार, लोप एवं पुनः सृष्टि)
३. वंश (राजाहरुको वंशावली)
४. मन्वंतर (भिन्न-भिन्न मनुहरुका कालको प्रमुख घटनाहरु)
५. वंशानुचरित (अन्य गौरवपूर्ण राजवंशहरुको विस्तृत विवरण)
यस प्रकार पुराणहरुमा मध्य युगीन धर्म, ज्ञान-विज्ञान, तथा इतिहासहरुको वर्णन मिल्दछ । पुराणहरुले नै हिन्दू धर्ममा अवतारवादको अवधारणाको सूत्रपात गरे । यसको अलावा मूर्तिपूजा, तीर्थयात्रा, व्रत आदि यसै कालको देन हो । पुराणहरुको पश्चात् भक्तिकालको आगमन भयो । जसमा विभिन्न सन्तहरु एवं भक्तहरुले साकार ईश्वरको आराधनामा बल दिए तथा जनसेवा, परोपकार, र प्राणिमात्रको समानता एवं सेवालाई ईश्वर आराधनाकै रूप बताए । फलस्वरूप प्राचीन दुरूह कर्मकाण्डहरुको बन्धन केही हलुका भए ।
दक्षिण भारतका अलवार संतहरु, गुजरातका नरसी मेहता, महाराष्ट्रका तुकाराम, पश्चिम बङ्गालका चैतन्य महाप्रभु, उत्तर भारतका तुलसी, कबीर, मीरा, राबिया, सूरदास, गुरु नानक, दादु दयाल, शेख फरीद, बाबा बुल्लेह शाह आदिको भक्ति भावले ओतप्रोत भजनहरुले तत्कालिन जनमानसमा आफ्नो अमिट छाप छोड्यो ।
हिन्दू धर्मको अवधारणा एवं परंपरा ।
हिन्दू धर्मको प्रमुख अवधारणाहरु निम्नलिखित छन्-
ब्रह्म- ब्रह्मलाई सर्वव्यापी, एकमात्र सत्ता, निर्गुण तथा सर्वशक्तिमान मानिएको छ । वास्तवमा यो एकेश्वरवादको (एकोऽहं द्वितीयो नास्ति) परब्रह्म हुन्, जो अजर, अमर, अनंत र यस जगतको जन्मदाता, पालनहार एवं कल्याणकर्ता हुन् ।
आत्मा- ब्रह्मलाई सर्वव्यापी मानिएको छ । अतः जीवहरुमा पनि उसकै अंश विद्यमान छ । जीवहरुमा विद्यमान ब्रह्मको यो अंशलाई नै आत्मा भनेर भनिन्छ । आत्मा शरीरको मृत्यु पश्चात् पनि समाप्त हुँदैन र कुनै नवीन शरीरलाई धारण गरि पुनः यस जगतमा जन्म लिन्छ । अन्ततः मोक्ष प्राप्तिको पश्चात् परब्रह्ममा लीन हुन्छ ।
पुनर्जन्म- आत्माको अमरत्वका अवधारणाहरुले गर्दा नै पुनर्जन्मको अवधारणालाई पनि पुष्टि गर्दछ । एउटा जीवको मृत्यु पश्चात् उसको आत्माले नयाँ शरीर धारण गर्दछ अर्थात् उसको पुनर्जन्म हुन्छ । यस प्रकार शरीर आत्माको उपकरण मात्र हो ।
योनि- आत्माको प्रत्येक जन्मद्वारा प्राप्त ‘जीव’रुपलाई नै योनि भनिन्छ । यस्तै प्रकारले चौरासी लाख योनिहरुको कल्पना गरिएको छ । जसमा किरा-फट्यांग्रा, पशु-पक्षी वृक्ष तथा मानव आदि सबै सम्मिलित छन् । योनिलाई आधुनिक वैज्ञानिक भाषामा जैव प्रजातिहरु पनि भन्न सकिन्छ।
स्वर्ग-नर्क- यी कर्मफलसंग संबन्धित दुईलोक हुन् । स्वर्गमा सबै देवताहरु अत्यंत आरामको जीन्दगी व्यतीत गर्छन्, जबकि नर्क अत्यंत कष्टदायक, अन्धकारमय र निकृष्ट छ । शुभकर्म गर्नेवाला प्राणि मृत्युपरांत स्वर्गमा तथा अशुभकर्म गर्नेवाला नर्कमा स्थान पाउने गर्छ ।
मोक्ष- मोक्षको तात्पर्य हो, आत्माको जीवन-मरणरूपी दुश्चक्रबाट मुक्त हुनु, अर्थात् परब्रह्ममा लीन हुनु । यसका लागि निर्विकारभावले सत्कर्म तथा ईश्वरको आराधना गर्नुपर्ने हुन्छ ।
चार युग- हिन्दु धर्ममा काल (समय) लाई चक्रीय मानिएको छ । यस प्रकार एक कालचक्रमा चारयुग कृत (सत्य), त्रेता, द्वापर तथा कलि मानिएका छन् । यी चारै युगमा कृत सर्वश्रेष्ठ र कलि निकृष्टतम मानिएको छ । साथै चार युगमा मनुष्यको शारीरिक तथा नैतिक शक्ति क्रमशः क्षीण हुँदै जान्छ । चारै युगरुलाई मिलाएर एक महायुग बन्दछ । जसको अवधि ४३,२०,००० वर्ष हुन्छ । तथा जसको अन्त्यमा पृथ्वीमा माहाप्रलय हुन्छ । तत्पश्चात् सृष्टिको नवीन रचना शुरु हुन्छ ।
चार वर्ण- हिन्दू समाज चार वर्णहरुमा विभाजित छन् । ब्राह्मण, क्षत्रिय, वैश्य तथा शूद्र । यी वर्ण प्रारम्भमा कर्मको आधारमा विभाजित थिए-
चातुर्वर्ण्यं मयासृष्टं गुणकर्मविभागशः (गीता- ४।१३)
ब्राह्मणको कर्तव्य विद्यार्जन, शिक्षण, पूजन, कर्मकाण्ड सम्पादन आदि हो । क्षत्रिय वर्णानुसार शासन गर्नु तथा देश र धर्मको रक्षा हेतु युद्ध गर्नु, वैश्यहरुको कृषि एवं व्यापारद्वारा समाजको आर्थिक आवश्यकताहरु पूर्ण गर्नु तथा शूद्रहरुको उक्त तीन वर्णहरुको सेवा एवं अन्य आवश्यकताहरु पूरा गर्नु हो । कालान्तरमा वर्णव्यवस्था निकै जटिल हुँदै गयो र वंशाणुगत तथा शोषणपरक हुँदै गयो । शूद्रहरुलाई अस्पृश्य तथा अछूत मानिन थालियो । वर्तमानमा वर्णव्यवस्था अत्यन्त विकृतरूपमा दृष्टिगोचर हुन्छ ।
चार आश्रम- प्राचीन हिन्दू संहिताहरुले मानव जीवनलाई १०० वर्षको आयुवाला मान्दै उसलाई चार चरण अर्थात् आश्रमहरुमा विभाजित गर्छन्- ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास । प्रत्येकको संभावित अवधि २५ वर्ष मानिएको छ । ब्रह्मचर्य आश्रममा व्यक्ति गुरु आश्रममा गएर विद्याध्ययन गर्छ, गृहस्थ आश्रममा विवाह, संतानोत्पत्ति, अर्थोपार्जन, दान तथा अन्य भोग-विलास गर्छ, वानप्रस्थमा व्यक्ति बिस्तारै-बिस्तारै सांसारिक उत्तरदायित्वलाई आफ्नो पुत्रहरुलाई सौंपी उनीहरुसंग विरक्त हुँदै जान्छ र अन्ततः संन्यास आश्रममा गृह त्यागेर निर्विकार भई ईश्वरको उपासनामा लीन हुन्छ ।
चार पुरुषार्थ- धर्म, अर्थ, काम, मोक्ष यी चार पुरुषार्थ नै जीवनको वांछित उद्देश्य हुन् । उपयुक्त आचार-व्यवहार र कर्तव्यपरायणता नै धर्म हो । आफ्नो बौद्धिक एवं शारीरिक क्षमतानुसार परिश्रमद्वारा धन कमाउनु र उसको उचित तरिकाले उपभोग गर्नु नै अर्थ हो । शारीरिक आनन्दभोग नै काम हो भने धर्मानुसार आचरण गरेर जीवन-मरणदेखि मुक्ति प्राप्त गर्नु नै मोक्ष हो । धर्म व्यक्तिको जीवनभर मार्गदर्शक हुन्छ, जबकि अर्थ र काम गृहस्थाश्रमका दुई मुख्य कार्य हुन् तथा मोक्ष सम्पूर्ण जीवको अन्तिम लक्ष्य ।
चार योग- ज्ञानयोग, भक्तियोग, कर्मयोग तथा राजयोग यी चारयोगहरु हुन् । जसले आत्मालाई ब्रह्मसंग जोडिदिन्छ । जहाँ ज्ञानयोग दार्शनिक एवं तार्किक विधिको अनुसरण गर्छ त्यहिं भक्तियोग आत्मसमर्पण र सेवाभावको, कर्मयोग समाजको दीन-दुखिहरुको सेवा तथा राजयोग शारीरिक एवं मानसिक साधनाको अनुसरण गर्छ । यी चारै परस्पर विरोधी नभई एक-अर्काका सहायक र पूरक हुन् ।
चार धाम- उत्तर, दक्षिण, पूर्व र पश्चिम- चारै दिशाहरुमा स्थित चार हिन्दू धाम क्रमशः बद्रीनाथ, रामेस्वरम्, जगन्नाथपुरी र द्वारिका हुन् । जसको यात्रा प्रत्तेक हिन्दूको पुनीत कर्तव्य हो ।
प्रमुख धर्मग्रन्थ- हिन्दू धर्मका प्रमुख ग्रन्थ हुन्- चार वेद (ऋग्वेद, सामवेद, यजुर्वेद तथा अथर्ववेद), तेरह उपनिषद्, अठार पुराण, रामायण, महाभारत, गीता आदि । यसको अलावा अरु धर्मग्रन्थहरु पनि उपलब्ध छन् ।
यस प्रकार हिन्दू धर्मको विविधता, जटिलता एवं बहुआयामी प्रवृत्ति स्पष्ट नै छ । यसमा अनेक दार्शनिकहरुले अलग-अलग प्रकारले ईश्वर एवं सत्यलाई सम्झाउने प्रयास गरेका छन्, फलस्वरूप अनेक दार्शनिक मतहरुको प्रादुर्भाव भएको पाइन्छ ।