गिर्न हुँदैन राष्ट्रपतिको साख

412 Views

पौष ०७,२०७६


-

नेपालमा गणतन्त्र आएको १५ बर्ष पुगेको छ । राष्ट्रपति देशको प्रमुख पद हो । यो पदको गरिमा हरेक नागरिकसंग जोडिएको हुन्छ । यो पद कुनै दल वा अज्ञात समुहको होइन । राष्ट्रपति पदसंग जनताको मानो र छानो गाँसिएको छ । यहि पदलाई आक्षेप लगाउने कानुनी अधिकार कसैंसंग छैन । पदको साख जोगाउने काम त्यो पदमा बस्ने ब्यक्तिको हो । पदमा बस्ने मानिस केवल जनताप्रति मात्र समर्पित हुनुपर्छ । राज्यका अंगसंग सन्तुलन कायम गर्न सक्नुपर्छ । पदको उचाइलाई सम्मानित गर्ने जिम्मा त्यो पदमा बस्ने ब्यक्तिको हो । अहिले नेपालको राष्ट्रपति पदमा बिद्यादेवी भण्डारी छिन् । तर, उनका क्रियाकलाप विभिन्न समयमा चर्चामा आइरहन्छन् । राष्ट्रपतिका बिषयमा चर्चामा आउनु राम्रो लक्षण होइन । यसले जनतालाई लज्जित पार्छ ।

 

  शनिवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी वैठक वस्दै थियो । सोही समयमा राष्ट्रपति भण्डारीले सत्तारुढ दलकै नेताहरुलाई डाकिन् । हुरुहुरु केहि नेता राष्ट्रपति निवास पुगे । नेकपाका मन्त्रीदेखि नेताहरुसम्मले राष्ट्रपति कार्यालय भरियो । यता वैठक डाकेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल भने रित्तो हलमा फत्तफताउँदै थिए,‘कता गए साथीहरु, किन खाली भयो वैठक कोठा ?’ एकजनाले सुनायो,‘राष्ट्रपतिले वोलाएर सवै त्यतै गए ।’ ‘किन जाने अहिले राष्ट्रपति कहाँ, मैले वैठक वोलाएको जानकारी थिएन र ?,’ दाहालले आक्रोष पोखे स्थायी कमिटीका केहि सदस्य विचमा । राष्ट्रपतिले सवैलाई वोलाउनु र स्थायी कमिटीको वैठक एकै समयमा पर्नु यो संयोग थियो वा अन्य के कारण थियो, दुवै पक्षलाई थाहा होला । तर, राष्ट्रपतिले पार्टीकै नेता जसरी भेला डाक्नु पदीय मर्यादा विपरित हो ।

 

  राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । यस अघिको उनको कार्यकाल त्यति विवादित वनेको थिएन । तर, यस पटक भण्डारी राष्ट्रपतिमा निर्वाचित भएदेखि पटक पटक पदको मर्यादा वाहिर गएका कुरा जनगुनासाका रुपमा सार्वजनिक भएका छन् । फलस्वरुप विभिन्न घटनामा राष्ट्रपति कार्यालयले आत्माआलोचना समेत गर्नु परेको छ । हो, गणतन्त्र ब्यवस्थामा दलहरुवाटै राष्ट्रपति चुनिन्छ । हाम्रो संविधानले पनि यहि ब्यवस्था गरेको छ । भण्डारी सत्तारुढ नेकपाकै एक कार्यकर्ता थिइन् । जव उनि राष्ट्रपतिमा निर्वाचित भइन, अनि उनि सवै दलको र सारा नेपालीको अभिभावक वनेकी हुन् । उनले यो कुरा विर्सिंदै गइन, ‘कि म सवै नेपालीको अभिभावक हुँ ।’ दोस्रो कार्यकालमा उनि पार्टीको नेता भए जस्तो संकेत गरेर राष्ट्रपति पदको सम्मानलाई ख्याल गर्न सकेकी छैनन् ।

 

 केहि समय अघि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको वोलीप्रति राष्ट्रपति भण्डारीले गरेको ब्यंगलाई धेरैले आलोचना गरेका थिए । भण्डारीको यस्तै हर्कतका कारण झोक्किंदै शनिवारको वैठकमा उनकै अध्यक्ष दाहालले भनिदिए,‘भण्डारीले वोलाउँदैमा किन जाने ?’ अहिले विद्यादेवी भण्डारीप्रति उनलाई राष्ट्रपति वनाइदिएको पार्टीका नेताहरुले समेत आलोचना गर्न शुरु गरिसकेका छन् । अहिले यतिवेला राष्ट्रपति भण्डारीप्रति उनलाई साथ र समर्थन गर्ने उनको पुर्व पार्टीका नेताहरु नै खिन्न छन् ।  शनिवार भण्डारीले वोलाएको वैठकमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थायी कमिटी वैठकमा ढिलै भएपनि आएर माफी माग्नु परेको छ । ‘अव जान्नौं, अध्यक्ष ज्यूलाई सोधेर जान्छौं,’ माफी माग्दै ज्ञवालीले वैठकमा भनेका थिए । ढिलो शुरु भएको स्थायी कमिटीको वैठकमा राष्ट्रपति भण्डारीलाई ‘महारानी’को आरोप पनि लाग्यो ।

 

 हाम्रो संविधानले राष्ट्रपति पदमा वस्ने ब्यक्तिलाई आलंकारिक मानेको छ । अर्थात संविधानले तोके भन्दा वाहिरको सक्रियतालाई निषेध गरेको छ । भए जति सक्रिय हुने अधिकार प्रधानमन्त्रीलाई छ । राष्ट्रपतिले सोधपुछ गर्न प्रधानमन्त्रीलाई डाक्नुपर्ने हो । यो राष्ट्रपतिको अधिकार र सान भित्र पर्छ । तर, मन्त्री र पार्टीका नेताहरु डाकेर छलफल गर्नु संविधानकै खिलाफमा हो । राष्ट्रपति शालिन रुपमा निरपेक्ष ढंगले पदमा बसिरहने हो । तर, वेला वेलामा हुने भण्डारीको घेरा वाहिरको सक्रियताले राष्ट्रपति पदको आलोचना र टिप्पणी वढ्न थालेको छ । यो गणतन्त्र ब्यवस्थाका लागि शुभ संकेत होइन । यसप्रति राष्ट्रपति कार्यालय गंभिर वन्नैपर्छ । किनकी राष्ट्रपतिको साख गिर्न हुँदैन ।

 

आज

बैशाख १३,२०८१
बिहिवार