काठमाडौँका तिन जिल्ला सहित १५ जिल्लामा पोलियो थोपा खुवाइँदै

फाल्गुण २१,२०७३

-

फाल्गुन २१, २०७३ राष्ट्रिय पोलियो खोप अभियानअन्तर्गत काठमाण्डौ उपत्यकाका तीन जिल्ला  सहित १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्य एक साथ आज सुरु भएको छ ।

जन्मेदेखि पाँच बर्ष मुनिका करिब १६ लाख बालबालिकालाई आज र भोली पोलियो थोपा खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ  । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तथा बाँके, बर्दिया, कैलाली, कपिलबस्तु, बारा, पर्सा, रौतहट, सिराहा, धनुषा, महोत्तरी, सप्तरी र सुनसरीमा बिहानैबाट पोलियो थोपा खुवाउने अभियान सुरु भएको हो  ।

फागुन पहिलो साताका लागि तय अभियान स्वास्थ्यकर्मीको आन्दोलन र तालाबन्दीका कारण १५ दिनपछि सारिएको हो ।    स्वास्थ्यमन्त्री गगन थापाले आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गर्दै पोलियो खुवाउने अभियानमा बिना अवरोध सहभागी हुन अपिल गर्नुभएको छ ।

पोलियो थोपा बालबालिकाको अधिकार भएकाले त्यसमा अवरोध गर्नु कानुनी अपराध भएको भन्दै   मन्त्री थापाले अभियानमा अवरोध पुर्‍याउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका थिए ।