Trending :
 

मेसी, रोनाल्डो र एम्बाप्पेसहित १० खेलाडी फिफा वर्ष खेलाडीको सूचीमा

नेमार परेनन्

श्रावण ०९,२०७५

-

 साउन ९, २०७५ काठमाडौँ ।
 
क्रिष्टियानो रोनाल्डो, लिओनल मेसी, एम्बाप्पेसहित १० खेलाडी फिफा वर्ष खेलाडी अवार्डका लागि मनोनित भएका छन् ।
 
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार निकालेको यो सूचीमा नेइमार भने अटाएनन्।
 
उनीमात्र होइन सूचीमा ब्राजिलका कुनै पनि खेलाडी फिफा बर्ष खेलाडीको मनोनयनमा परेका छैनन्।
 
हालै रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका स्टार स्ट्राइकर तथा साविक विजेता क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीसँगै विश्वकप विजेता टोली फ्रान्सका तीन खेलाडी परेका छन्।
 
फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टप टेन सूचीमा परेका छन्। यस्तै बेल्जियमका इडेन हाजार्ड, केभिन डी ब्रुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रीच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन्।
 
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ।
 
फिफाले फ्रान्सको फुटबल म्यागेजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डीुओर अवार्डबाट छुट्टिएर दुई वर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ।
 
गत बर्षको जुलाई ३ बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ।
 
यस्तै फिफा बर्ष महिला खेलाडीको मनोनयनमा ओलम्पिक लियोनेसकी लुसी ब्रोन्जे, वुल्फवर्गकी पिर्निले हार्डर, ओलम्पिक लियोनेसका अदा हेजेरबर्ग, ओलम्पिक लियोनेसकै अमानडीने हेन्री, अष्ट्रेलियाकी साम केर, जापानकी सकी कुमागई, जर्मनीकी डीज्नीफर मारोजसान, ब्राजिलका मार्टा, अमेरिकाकी मेगान रापिनोए र ओलम्पिक लियोनेसकी वेडी रेनार्ड परेकी छिन्।
 
फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डीडीएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट,  बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेका छन् ।
 
फिफा बर्ष महिला प्रशिक्षकको मनोनयनमा चेल्सीका प्रशिक्षक इमा हाएस,उल्फबर्गका स्टेफेन लेर्च, पोर्टल्याण्डका मार्क पार्सन्स, ओलम्पिक लियोनेसका रेनाल्ड पेड्रोस, अष्ट्रेलियन प्रशिक्षक एलेन स्टाज्चिक, जापानिज प्रशिक्षक  आसाको ताकाकुरा, स्पेनिस प्रशिक्षक जोर्गे भिल्डा, ब्राजिलका प्रशिक्षक भाडो, स्विजरल्याण्डका प्रशिक्षक मार्टिना वोस र नेदरल्याण्डका प्रशिक्षक सरिना विगम्यान परेका छन्। एजेन्सी ।