भगवान शिवको प्राकट्य
भगवान शिवको उत्पत्ति बारे रोचक तथ्य
-माधव प्रसाद गर्तौला
भगवान शिवको प्राकट्य (उत्पत्ति) कसरि भयो, पढौं एक पौराणिक कथा l
हामी सबैको प्रिय भगवान शिवको जन्म भएको होईन, वहाँ स्वयंभू हुनुहुन्छ ।
तर पुराणहरुमा भने उनको उत्पत्तिको विवरण मिल्ने गर्छ ।
विष्णुपुराणको अनुसार परमपिता ब्रह्मा भगवान विष्णुको नाभिकमल बाट उत्पन्न हुनुभएको हो ।
जबकि शिव भगवान विष्णुको टाउकाको तेजबाट उत्पन्न हुनुभएको हो भनेर बताइएको छ।
श्रीमद्भागवतमहापुराण अनुसार एकपटक भगवान विष्णु र परमपिता ब्रह्मा अहंकारले अभिभूत भई
स्वयंलाई नै सर्वश्रेष्ठ बताई एक - आपसमा झगडा गर्न थाले तब जलिरहेको खम्भाबाट भगवान शिव प्रगट हुनुभएको हो भनेर वर्णन गरिएको छ ।
विष्णुपुराणमा वर्णित भएको भगवान शिवको कथामा बालरूपको वर्णनगरिएको छ ।
यसको अनुसार परमपिता ब्रह्मालाई एउटा बच्चाको आवश्यकता थियो ।
यसको लागी वहांले तपस्या गर्नुभयो । तब अचानक उनको काखमा रुँदै गरेको एउटा बालक प्रगट भयो ।
जब ब्रह्माले बालकसंग रुनुको कारण सोधे तब ती बालकले भने कि उसको कुनै नाम छैन त्यसैले रोएको हो l
त्यसपछि परमपिता ब्रह्माले त्यस बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’।
त्यस नामले ती बालक चुप लागेनन् । त्यसैले परमपिता ब्रह्माले उनलाई अर्को पनि नाम दिए त्यसपछि पनि बालक चुप भएनन् ।
यस प्रकारले ती बालकलाई चुप गराउनको लागी ब्रह्माले आठवटा नामहरु दिए । पछी गएर भगवान शिव यिनै आठनामले प्रसिद्ध हुनुभयो ।
ती नामहरु हुन्- रुद्र, शर्व, भव, उग्र, भीम, पशुपति, ईशान, र महादेव । शिवपुराणको अनुसार यी नामहरु पृथ्वीमा लेखिएका थिए ।
यस पुराणको अनुसार जब पृथ्वी, आकाश, पाताल, समेत पूरा ब्रह्माण्ड जलमग्न थियो l
तब ब्रह्मा, विष्णु र महेश को अलावा कुनै पनि देवता या प्राणीहरु थिएनन् ।
केवल भगवान विष्णु महासमुद्रमा आफ्नो शय्या शेषनागमाथि विश्राम गरिरहनुभएको थियो ।
त्यसपछि वहांको नाभी–कमलबाट ब्रह्माजी प्रगट हुनुभयो ।
ब्रह्मा र विष्णु जब सृष्टिको संबंधमा कुराकानी गरिरहनुभएको थियो तब भगवान शिव प्रगट हुनुभयो ।
परमपिता ब्रह्माले वहाँलाई चिन्न सक्नुभएन ।
त्यसपछि भगवान विष्णुले भगवान शिव रुष्ट हुने भयले परमपिता ब्रह्मालाई दिव्यदृष्टि प्रदान गरी स्मरण गराउनुभयो ।
दिव्यदृष्टिको प्रभावले परमपिता ब्रह्मालाई आफ्नो भूलको बोध भयो ।
त्यसपछि वहांले भगवान शिवसंग क्षमा माग्दै आफ्नो पुत्ररूपमा जन्म लिन आग्रह गर्दै आशीर्वाद माग्नुभयो ।
भगवान शिवले परमपिता ब्रह्माको प्रार्थना स्वीकार गरी वहाँलाई आशीर्वाद प्रदान गर्नुभयो।
पछी गएर सृष्टि गर्दा जब ब्रह्मालाई एउटा बच्चाको आवश्यकता पर्यो तब वहाँलाई भगवान शिवको आशीर्वाद स्मरण भयो ।
अनि ब्रह्माले तपस्या गरी भगवान शिवलाई पुत्ररूपमा प्राप्त गर्नुभयो ।