Trending :
 

नेपाल सार्क्सविरुद्ध १३४ रनले विजयी

ज्ञानेन्द्र र सन्दिपको उत्कृष्ट प्रदर्शन

श्रावण ११,२०७५

-

 साउन ११, २०७५ काठमाडौँ ।
 
लण्डनमा बिहिबार भएको चौथो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले बेलायतको इष्ट लण्डन सार्क्सलाई एक सय ३४ रनले हराएको छ ।
 
२० ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेल्दै चार विकेट गुमाएर दुई सय ५१ रन जोडेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाए । कप्तान पारस खड्का र अविजित रहेका दीपेन्द्रसिंह ऐरीले समान ६७ रनको योगदान गरेका थिए । अनिलकुमार शाह ८ रनमा आउट भए भने आरिफ शेखले २ रन मात्र बनाउन सके । रोहित पौडेल १२ रनमा अभिजित रहे ।
 
दुई सय ५२ रनको विशाल लक्ष्य पछ्याएको सार्क्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १७ रन मात्र जोड्न सके । सार्क्सलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले तीन ओभरमा एक मेडन राखेर तीन विकेट लिए भने दुई रन मात्रै दिए ।
 
नेपालले आउने आइतबार त्रिपक्षीय टि२० श्रृङ्खलामा एमसिसी क्लब र नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ । यसपछि नेदरल्याण्डससँग एक दिवसीय श्रृङ्खला खेल्ने छ ।