श्रावण ११,२०७५
-माधव प्रसाद गर्तौला
गुरुपूर्णिमा विशेष l
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम्
द्वंद्वातीतं गगनसदृशं तत्वामस्यादिलक्ष्यम् l
एकं नित्यं विमलमचलं सर्वधीसाक्षीभूतम्
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि ll (गुरुगीता- ५२)
भावार्थ:
जो ब्रह्मानन्दंरूप एवं परम सुख दिनेवाला हुनुहुन्छ l
जो केवल ज्ञानस्वरूप (सुख, दुख, शीत, उष्ण आदि) द्वन्दहरुदेखि रहित हुनुहुन्छ,
आकाशको समान सूक्ष्म र सर्वव्यापक, तथा तत्वमसि आदि महावाक्यहरुको लक्ष्यार्थ हुनुहुन्छ,
जो एक, नित्य, मलरहित, अचल, सर्वबुद्धिहरुको साक्षी एवं संपूर्ण भावनाहरूदेखि पार हुनुहुन्छ,
जो सत्व, रज तथा तम यी तिनै गुणहरुदेखि रहित हुनुहुन्छ यस्ता श्रीसद्गुरुदेवलाई म नमस्कार गर्दछु l
आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ l
आफ्ना प्रथम गुरुहरु माता-पिता, गायत्रीमंत्र प्रदाता, वेद आदि शास्त्र पढ़ाई यसलोक तथा परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय-विश्वविद्यालयका
सम्पूर्ण गुरुहरुलाई नमन गर्ने, पूजन गर्ने पर्वका रुपमा गुरुपूर्णिमालाई लिइन्छ l
हिन्दू धर्मशास्त्रहरुमा माता-पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य कोही पूज्य हुंदैनन् भनी उल्लेख गरिएको छ l
गुकारश्चांधकारो हि रुकारस्तेज उच्यते l
अन्धकारविनाशित्वात् गुरुरित्यभिधीयते ll (गुरुगीता-३३)
‘गु’ भन्नाले अन्धकार एवं ‘रु’ भन्नाले प्रकाश बुझिन्छ l
अन्धकारबाट प्रकाशतर्फ लैजाने व्यक्ति विशेषलाई गुरु भनेर भनिन्छ l
अन्धकार एक प्रतीक हो, त्यसैले अन्धकारको मतलब हो अज्ञान l
अज्ञानबाट ज्ञानसम्मको यात्रामा साथ दिने करुणामूर्ति नै वास्तविक गुरु हुन् l
विद्या र विनयले युक्त शिष्य बनाउने दायित्व गुरुमा रहन्छ भने साँच्चै विद्या प्राप्तिका लागि विनयले युक्त विद्यार्थी हुनै पर्दछ l
विद्यार्थीको प्रथम परिचय भनेकै विनयता हो l विनयसम्पन्न र जिज्ञासु शिष्यलाई ज्ञानको आलोक भर्ने कर्त्तव्य गुरुको हुन्छ l
गुरुपूर्णिमालाई व्यासजयंतीका रूपमा पनि मनाइने हुंदा भगवान् श्रीकृष्णका चरित्रले युक्त श्रीमद्भागवतमहापुराण रचना गरी
संतोष लिनु भएका व्यासजीले सबैका गुरु श्रीकृष्ण हुनु भएको (कृष्णं वन्दे जगद्गुरुम्) र वहांकै अनुग्रहले संतोषदायक यस पुराणको रचना गरी स्वयं संतुष्ट रहेको विषय प्रगट गर्नु भएको हो l
अज्ञानतिमिरान्धस्य ज्ञानांजनशलाकया l
चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः ll
ब्रह्मा, विष्णु, र शिवस्वरूप गुरुलाई सर्वोपरि ठान्ने सन्दर्भमा नै शिक्षक, मंत्रदाता, वेद आदि शास्त्रज्ञानप्रदाता सबैलाई गुरु मानी अज्ञानरूपी अन्धकारबाट प्रकाशतर्फ लैजाने कार्य गुरुबाट मात्र संभव छ भने त्यसका लागि शिष्यहरुलाई ज्ञानका शलाकाले आँखा खोल्ने काम पनि गुरुबाट मात्र संभव हुने हुंदा त्यस्ता ऐहिक एवं पारलौकिक ज्ञानका दाता गुरुहरुमा सततः नमन् गर्दछु l
प्रमुख समाचार
सम्वन्धित समाचार