लाओसमा अझै १३१ जना बेपत्ता
-
लाओसमा बाँध भत्किएर बगाएकामध्ये १३१ जना अझै बेपत्ता छन् ।
लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बुधबार सो जानकारी दिएका हुन् ।
देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रोपावरको बाँध भत्किएर बगाएकामध्ये १३१ जनाको अवस्था अझैअज्ञात रहेको उनले बताए ।
निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रोपावरको बाँध मंगलबार भत्किएको थियो ।
बाँध भत्किएपछि सानाम्याक्सी जिल्लाका सातवटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म यकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
प्रधानमन्त्री सिसौलिथले विस्थापितहरूलाई बसोवासको व्यवस्था गरिएको जानकारी दिए ।
उनले भने, ‘बाँध भत्किँदा घरबारविहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता छन् ।
वर्षापछि बाँध भत्किएपछि अहिले पनि बाढी आइरहेको र अरू पाँचदेखि ६ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।
घटनाबाट पीडितलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उनले जानकारी दिए ।