श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ५ विकेटले विजयी
-
साउन १४, २०७५ एजेन्सी ।
तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर तब्रेज साम्सीले ४–४ विकेट लिएपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिलो वान–डेमा ५ विकेटको जित निकालेको छ।
आइतबार डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनायो।
१९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
यसअघि घरेलु टोली श्रीलंकाका शीर्षक्रमलाई ध्वस्त पार्ने क्रममा रबाडाले ४१ रन खर्चेर ४ विकेट लिएका थिए भने साम्सीले तल्लोक्रमलाई धराशायी बनाउँदै ४ विकेट लिए।
सुरुआतमै विकेट गुमाएको श्रीलंकाको इनिङ्स सम्हाल्ने क्रममा कुशल पारेरा र थिसारा पारेराले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई केही उकासे।
कुनै समय ३६ रनमा पाँच विकेट गुमाएको स्थितिमा रहेको श्रीलंकालाई कुशल परेराले ८१ रन बनाएपछि उकासेका थिए। यस्तै थिसारा परेराले ४९ रन जोडेपछि मध्यम स्कोर खडा भएको थियो।
जवाफमा दक्षिण अफ्रिकाको सुरुआत पनि राम्रो हुन सकेन। अफस्पिनर अकिला धनञ्जयले सुरुआतमै दुई विकेट लिँदै घरेलु टोलीलाई खेलमा फर्कने आशा देखाएका थिए। तर, ओपनर क्विनटन डेकक र कप्तान फाफ डु प्लेसिसले समान ४७÷४७ रन बनाएपछि जिततर्फ अग्रसर गराए।
जेपी डुमिनीले ३२ बलमा नटआउट ५३ रन जोड्दै जित पक्का गरे। श्रीलंकाका लागि अकिला धनञ्जयले ३ विकेट लिए।
यो सँगै पाँच खेलको सिरिजमा अफ्रिकाले १.० को अग्रता लिए छ। अब सिरिज अन्तर्गत दोस्रो खेल बुधबार डम्बुलामै हुनेछ। एजेन्सी ।