Trending :
 

नेपालले एमसिसीलाई ९ विकेटले हरायो

श्रावण १४,२०७५

-

 साउन १३, २०७५ एजेन्सी ।
 
 लर्डसमा भइरहेको नेपाल, नेदरल्याण्डस र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक श्रृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको छ।
 
एमसिसीको ४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो। नेपालका लागि सुबास खकुरेलले नटआउट १६ रन बनाएका थिए। १५ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बलमा १२ रन बनाए। उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। यसअघि ओपनर अनिल साहले ९ बलमा ९ रन बनाएर आउट भएका थिए।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मसिसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ४० रन बनाएको हो।
 
एमसिसीलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले २ विकेट लिए।
 
२ ओभर बलिङ गरेका कामीले ८ रन खर्चिएर २ विकेट लिए। नेपालका लागि शक्ति गौचनले एक विकेट लिएका थिए।
 
आज महङ्गा साबित भएका सन्दिप लामिछानेले १ ओभरमा १३ रन खर्चिए। कप्तान पारस खड्काले ७ रन दिए भने ललित भण्डारीले ५ रन खर्चिएका थिए।
 
यसअघि वर्षाले प्रभावित भएपछि ६ ओभरमा छोट्याइएको पहिलो खेलमा नेदरल्याण्डले एमसिसीलाई ६ रनले हराएको थियो।
 
नेदरल्याण्डले दिएको ७३ रनको लक्ष्य एमसिसिले २ विकेट गुमाएर ६२ रनमा समेटिएपछि पहिलो खेलमा नेदरल्याण्ड विजयी भएको हो।
 
यस खेल लगत्तै नेपाल र एमसीसीबीच पनि ६–६ ओभरको खेल हुनेछ। त्यसपछि टी–२० अन्तराष्ट्रियको मान्यता प्राप्त अन्तिम नेपाल र नेदरल्याण्ड्सबीचको खेल पूरै २०–२० ओभरको हुने एमसिसिले जनाएको छ।
 
वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि सुरुवाती दुर्इ खेलको ६–६ ओभरमा छोट्याइएको हो।