कम्बोडियामा आमनिर्वाचन सम्पन्न, हुन सेन पुनः विजयी हुने संभावना
-
साउन १५, २०७५ आजेन्सी
कम्बोडियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि ३३ वर्षदेखि एकछत्र शासन गरेका हुन सेन पुनः विजयी हुने सुनिश्चित देखिएको छ । निरीह र नाम मात्रका विपक्षी दलहरूका कारण हुन सेनको विजय निश्चित देखिएको हो ।
उनको विजयसँगै कम्बोडिया एकदलीय राज्यमा रूपान्तरित हुने खतरा बढेको छ । मतदानस्थलबाहिर औँलामा दलेको मसी देखाउँदै ६५ वर्षीय हुन सेनले आफ्नो विजयलाई कसैले छेक्न नसक्ने दाबी गरे ।
चुनावमा हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सिपिपी) का विरुद्धमा साना र नामै नसुनिएका १९ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । मुख्य विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यु पार्टी (सिएनआरपी) २०१७ को नोभेम्बरमा सर्वोच्च अदालतले विघटन गरेपछि हुन सेनलाई चुनावमा चुनौती दिने कुनै बलियो शक्ति छैन ।
हुन सेन सन् १९८५ मा कम्बोडियाको सत्तामा पुगेका थिए । सत्तारोहणपछि उनले नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक विपक्षीहरूको दायरा साँघुरो बनाए । पश्चिमा देशहरूले विश्वसनीय चुनावको आधार समाप्त भएको भन्दै सहयोग बन्द गरेका छन् भने अधिकारवादी संस्थाहरू र विपक्षीहरूले लोकतान्त्रिक प्रक्रियालाई दबाएको आरोप लगाएका छन् ।