Trending :
 

चेतावनीपछि अब ट्रम्पले भने, ‘इरानका राष्ट्रपतिसँग जुनसुकै बेला भेट्न तयार छु’

श्रावण १५,२०७५

-

 
 साउन १५, २०७५ एजेन्सी ।
 
बीबीसी
 
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटघाटको प्रस्ताव राखेका छन् ।
 
ट्रम्पले ‘बिना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ रुहानीसँग भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् ।
 
ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्रीसँग आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘म जोसुकैलाई भेट्न सक्छु । म भेटवार्तामा विश्वास गर्छु । यदि उनले चाहे भने हाम्रो भेट पक्कै हुनेछ ।’
 
यसै महिनाको सुरुदेखि अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले भेटवार्ताका लागि प्रस्ताव राखेका हुन् ।
 
ट्रम्पले पुरानो परमाणु सन्धीको ठाउँमा केही उत्कृष्ट समाधान निकाल्ने विषयमा कुराकानी गर्न चाहेको बताएका छन् । यद्यपी, इरानी राष्ट्रपतिका सल्लाहकार हामिद अबूतलेबीले पारमाणविक सम्झौतामा फर्केमा र इरान राष्ट्रका अधिकारको सम्मान गरेमा त्यसले वार्ताका लागि बाटो खोल्ने भन्दै ट्वीट गरेका छन् ।
 
अमेरिकी राष्ट्रपतिको यो प्रस्तावको केही घण्टा अघि इरानका विदेशमन्त्रीले अमेरिकासँग कुनै पनि प्रकारको कुराकानीको सम्भावनालाई अस्विकार गरेका थिए ।
 
 उनलृे अमेरिका विश्वास गर्न लायक नभएको पनि बताएका थिए ।
 
अमेरिका इरान परमाणु सन्धीबाट बाहिरिएपछि गत मे महिनादेखि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
 
यो सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटाइएपछि इरानले आफ्ना परमाणविक गतिविधिहरु नियन्त्रण गरेको थियो ।
 
इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बाबजुद अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
 
यदि यी दुई नेताबीच भेट भइहाले सन् १९७९ को इरानी क्रान्तिपछिको पहिलो भेटवार्ता हुनेछ ।
 
 
एजेन्सी