Trending :
 

इमरान खानले गरे ११ अगस्टमा प्रधानमन्त्रीको शपथ लिने घोषणा

श्रावण १५,२०७५

-

साउन १५, २०७५ काठमाण्डौ  ।
 
पाकिस्तानको सबैभन्दा ठूलो दल पाकिस्तान तहरिक ए इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानले अगस्ट ११ मा प्रधानमन्त्रीको शपथ लिने घोषणा गरेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा उनको दलले एक सय १६ सिट जितेको छ ।
 
यद्यपि, सरकार गठनका लागि पिटिआईलाई एक सय ३७ सिट आवश्यक हुन्छ । त्यसका लागि इमरानले निर्वाचनमा ६ सिट जितेको मुताहिदा कौमी मुभमेन्ट–पाकिस्तान, २ सिट जितेको द ग्रान्ड डेमोक्रेटिक अलायन्स, ४ सिट जितेको पीएमएल–कैद र ४ सिट जितेको बलुचिस्तान अवामी पार्टीको समर्थन लिने बुझिएको छ ।
 
निर्वाचनमा विजयी भएका पाँचजना स्वतन्त्र उम्मेदवारले पनि इमरानलाई समर्थन गर्ने संकेत गरेका छन् ।
 
इमरानविरुद्ध नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टीले (पिपिपी) ले गठबन्धन गर्ने भएका छन् । पिएमएल–एनको ६४ र पिपिपीको ४३ सिट छ । यी दुई पार्टीबीच १६ पछि पहिलोपटक गठबन्धन बन्न लागेको हो । सन् २००२ परवेज मुसर्रफले जफरुल्ला जमालीलाई प्रधानमन्त्री बनाएपछि यी दुईले मिलेर सरकार विरोधी गठबन्धन बनाएका थिए ।
 
आइतबार दुवै पार्टीका नेताको बैठक बसेको छ । ‘चुनावको नतिजा उल्टो आयो भन्ने दुवै पार्टीको बुझाइ छ । एक तरिकाले यो चुनाव नै चोरिएको हो । त्यसैले सरकारलाई घेर्नका लागि हामी संयुक्त रणनीति बनाउँछौँ,’ पिएमएल–एनका नेता मुसाहिद हुसैन सैयदले भनेका छन् । चुनावमा सेनाल धाँधली गरेको भन्दै यी दुई पार्टीले चर्को विरोध गरिरहेका छन् ।