राष्ट्रिय महिला लिगमा आर्मीलाई हराउँदै एपिएफ विजयी
-
साउन १५, २०७५ काठमाडौँ ।
राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको उपाधि विभागीय टोली आर्मीलाई हराउँदै एपिएफले जितेको छ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार भएको विभागीय डर्बीमा आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै गर्दै एपीएफले उपाधि उचालेको हो।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। आर्मीका लागि पुनम मगरले सान्तवना गोल गरिन्।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप दुई गोल थप्यो। पहिलो हाफको ४० औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।
दोस्रो हाफको ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
तर ५४ औं मिनेटमा दोस्रो गोल गर्दै साबित्राले पुन टिमलाई अग्रता दिलाइन्। त्यसपछि खेलको ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्।
उपाधिसँगै एपीएफले २ लाख प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले एक लाखमा चित्त बुझाएको छ। तेस्रो भएको रौतहटले ५० हजार रुपैयाँ प्राप्त गर्यो। पुलिसले लिगको अन्तिम खेलमा काठमाडौंमाथि ९–० को फराकिलो जित निकाले पनि तेस्रो हुन सकेन।
होडबाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन् । यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए । आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ ।
९ दिनसम्म चलेको लिगमा विभागीय तीन, काठमाडौं र रौतहटसहित ५ टोलीको सहभागिता थियो।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई उपराष्ट्रपति नन्दबहादुर पुन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए।