Trending :
 

बार्सिलोनालाई २ का विरुद्ध ४ गोल गर्दै रोम विजयी

श्रावण १७,२०७५

-

 साउन १७, २०७५ काठमाडौँ ।
 
 
  
इटालियन क्लब रोमाले बार्सिलोनालाई हराएको छ।
 
इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा बुधबार भएको खेलमा रोमाले स्पेनिस च्याम्पियन बार्सिलोनालाई ४ – २ गोल अन्तरले हराएको हो ।
 
अमेरिका भ्रमणमा रहेका यी दुई टोलीमध्ये बार्सिलोनाले बनाएको दुई पटकको सुरूवाती अग्रता उल्टाएर रोमाले जित निकालेको हो।
 
रोमालाई जिताउन स्टेफेन एल शारवे, एलेसान्ड्रो फ्लोरेन्जी, ब्रायन क्रिष्टान्टे र डिएगो पेरोट्टीले एक एक गोल गरेका थिए। बार्सिलोनामा राफिन्हा र माल्कोमले एक एक गोल गरेका थिए।
 
डालसमा भएको खेलमा सातौं, मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए। तर, खेलको ३५ औं मिनेटमा रोमाका स्टेफेनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।
 
दोस्रो हाफमा पुनः बार्सिलोनाले अग्रता बनायो । खेलको ५० औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। यसै सिजन बार्सिलोना आएका माल्कोमको यो क्लबका लागि पहिलो गोल हो।
 
खेलको ७८ औं मिनेटमा रोमाका एलेसान्ड्रोले गोल गर्दै खेल पुन २–२ को बराबरीमा ल्याए।
 
खेलको अन्तिम १० मिनेट भित्र २ गोल गरेपछि रोमाले सहज जित निकाल्यो। खेलको ८३ औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई ३–२ को अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै ८६ औं मिनेटमा डिएगोले पेनाल्टीमा गोल गर्दै रोमालाई ४–२ को शानदार जित दिलाए।
 
योसँगै रोमाले प्रि सिजनको सुखद अन्त्य गरेको छ। अघिल्लो खेलमा बार्सिलोनाले इंग्लिस क्लब टोटेनहमलाई हराएको थियो। एजेन्सी