Trending :
 

आर्सनलले चेल्सीलाई हरायो

श्रावण १७,२०७५

-

 साउन १७, २०७५ काठमाडौँ ।
 
अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलले चेल्सीलाई हराएको छ । दुई प्रिमियर लिग टोलीबीच भएको भिडन्तमा आर्सनलले पेनाल्टी सुटआउटबाट चेल्सीलाई स्तब्ध पारेको हो।
 
निर्धारित समयसम्म दुबै टोलीबाट १–१ को बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। आर्सनलले पेनाल्टीमा ६–५ ले जित्यो।
 
यसअघि खेलको पाँचौ मिनेटमा डिफेन्डर एन्टोनियो रूडिगरले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसको १० मिनेट पछि खेलको १५ औं मिनेटमा चेल्सीले अग्रता दोब्बर पार्ने मौका गुमायो।
 
आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी पनि पाएको थियो। तर, एल्भारो मोराटाको पेनाल्टी प्रहार पिटर चेकले बचाऊ गरेका थिए।
 
पहिलो हाफसम्म १–० ले अघि रहेको चेल्सीमाथि दोस्रो हाफको इन्जुरी समयमा आर्सनलले गोल गर्‍यो ।
 
एलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए।
 
त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। आर्सनल र चेल्सीका पहिला ५–५ खेलाडी सबैले आफ्नो पेनाल्टी गोलमा परिणत गरे।
 
आर्सनलका लागि लाकाजेट, माटियो गुन्डोजी, एन्स्ली मेटलेन्ड–नाइल्स, मेसुट ओजिल र रिस नेल्सनले आफ्नो पेनाल्टी परिणत गरे भने चेल्सीका ड्यानी ड्रिंकवाटर, ट्यामी अब्राहम, भिक्टर मोजेज, एमेर्सन र लुकास पियाजोन सबैले गोल गरे।
 
त्यसपछि खेल सडन–डेथमा पुगेको थियो। चेल्सीका रूबेन लफ्टस–चिकको पेनाल्टी आर्सनलका किपर चेकले रोकिदिए। लगत्तै आर्सनलका एलेक्स इवोबिले आफ्नो प्रहार  गोलमा परिणत गरेपछि आर्सनललाई महत्वपूर्ण जित दिलाए।
 
आगामी अगष्ट ११ बाट सुरू हुने प्रिमियर लिग तयारीका लागि यो प्रतियोगिता खेलिएको हो। चेल्सीले अब लियोनसँग अगष्ट ८ मा आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ।