Trending :
 

जिम्बाब्वेको चुनावमा विपक्षीको समर्थकमाथि गोलीबारी, तीनको मृत्यु

श्रावण १७,२०७५

-

साउन १७, २०७५ एजेन्सी ।
 
जिम्बाब्वेको राजधानी हरारेमा सुरक्षाबलले प्रदर्शनमा उत्रिएका विपक्षी समर्थकमाथि गोलीबारी गरेको छ । पुलिसका अनुसार उक्त गोलीबारीमा तीनजनाको मृत्यु भएको छ ।
 
विपक्षी गठबन्धनले कारवाहीको निन्दा गर्दै यसले रोबर्ट मुगाबेको शासनको ‘कालो दिन’ को याद ताजा पारेको बताएका छन् ।
 
एमडीसीले सत्ताधारी जानू–पीएफ पार्टीमाथि सोमबार भएको चुनावमा धाँधली गरेको आरोप लगाए ।
 
संसदीय चुनावको नतिजा अहिलेसम्म जारी गरिएको छैन । एमडीसी गठबन्धनको दाबी अनुसार सोमबार भएको चुनावमा उनका राष्ट्रपति उम्मेद्वार नेल्सन चामिसाले जीत हाँसिल गरेका छन् ।
 
युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाई गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
 
के भन्छन् दुबै पक्ष ? 
 
राष्ट्रपति इमरसन मन्गाग्वाले बुधबार भएको हिंसाका लागि विपक्षलाई जिम्मेवार बताएका छन् । उनले चुनावी प्रक्रियामा बाधा पुर्याउनका लागि यस्तो गरिएको आरोप लगाए ।
 
हिंसाअघि राष्ट्रपति मन्गाग्वाले मानिसहरुलाई शान्ती स्थापित गर्न अपिल गरेका थिए । करिब ४० वर्षसम्म जिम्बाब्वेको सत्तामा आसिन रोबर्ट मुगाबेको बिदाईपछि गत सोमबार पहिलो पटक राष्ट्रपति चुनाव भएको थियो ।
 
कानूनमन्त्री जियांबी जियांबीका अनुसार हिंस्रक भीडलाई तितरबितर गर्न र शान्ति स्थायित्वका लागि सेनालाई तैनाथ गरिएको थियो ।
 
उनले भने, ‘सेनालाई त्यहाँ मानिसहरुलाई डराउनका लागि नभई कानून व्यवस्था कायम राख्नका लागि राखिएको थियो । उनीहरुले त्यहाँ पुलिसलाई मद्दत गरिरहेका थिए ।’
 
उता चासिमाका प्रवक्ताले प्रदर्शन स्थलमा सेनालाई तैनाथ गरेको र मानिसहरुको मृत्युको घटनामाथि आलोचना गरेका छन् ।
 
उनले भने, ‘सैनिकलाई युद्धमा मानिसलाई मार्ने तालिम दिइन्छ । के सर्वसाधारण जनता देशका दुश्मन हुन् रु’
 
ताजा खबर अनुसार सुरक्षाबललले राजधानी हरारेलाई घेराबन्दी गरेका छन् ।
 
अहिलेसम्मको चुनाव नतिजाः
 
जिम्बाब्वेको चुनाव आयोग अनुसार संसदीय चुनावमा जानू–पीएफले अहिलेसम्म १ सय ३२ सिटमा जीत हाँसिल गरेको छ । जबकी एमडिसी गठबन्धनले ५९ सिटमा जीत हाँसिल गरेको छ ।
 
राष्ट्रिय सभाको तल्लो सदनमा दुई सय १० सिट छ ।
 
सोमबार भएको चुनावमा पचास लाखभन्दा बढिले आफ्नो मताधिकार प्रयोग गरे । मतदान ७० प्रतिशत रह्यो ।
 
राष्ट्रपति चुनावमा जीत हाँसिल गर्नका लागि कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी भोटको पाउनुपर्छ । यदि कुनै पनि उम्मेद्वारले यति भोट नपाए सेप्टेम्बर ८ मा पुनः मतदान हुनेछ ।
 
 
 
 
एजेन्सी