Trending :
 

अष्ट्रेलियाको समुद्री किनारमा नेपाली महिलाको शव भेटियो

श्रावण १७,२०७५

-

साउन १७, २०७५  एजेन्सी
 
अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको थियो । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ ।
 
अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
 
किनारमा एक्सरसाइज गर्न आएका दुई महिलाले बिहान ५ बजे महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
 
महिलाको शरीरमा पूरा कपडा भएको र उनको पहिचान खुल्ने किसिमको कागजात नरहेको प्रहरीले जनाएको छ। महिलाले लामो बाहुला भएको जम्पर, कलेजी रङको पेन्ट र कालो रङको जुत्ता लाएकी छन् ।
 
उनको शरीरमा एक ठाउँमा चोट देखिएको छ । तर त्यो त्यति गम्भीर नभएको प्रहरीको भनाइ छ । महिलाको पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमा जानकारी दिन आह्वान गरेको पनि द सन्डे मर्निङ हेराल्डले जनाएको छ ।
 
सुरुमा उक्त महिला भारतीय मूलकी भनेर अनुमान गरिएको थियो । अनुसन्धानबाट उक्त महिला नेपाली भएको प्रहरीले पुष्टि गरेको छ ।
 
ती नेपाली महिलाको मृत्युमा कुनै प्रहरीले कुनै आपराधिक संलग्नता नरहेको अनुमान गरे पनि अनुसन्धान जारी राखेको छ ।
 
स्थानीयले भने प्रहरीले कुनै आपराधिक घटनाको झैं अनुसन्धान गरिरहेको जनाएका छन् । विभिन्न सञ्चार माध्यमका अनुसार महिलाको शव भेटिएको स्थानमा प्रहरीले टेन्ट राखेको छ भने त्यहाँसम्म पुग्ने बाटो पनि बन्द गरेको छ ।
 
उनको प्रस्ट तस्वीर सार्वजनिक गरेर थप परिचय खुलाउने तयारी प्रहरीले गरेको छ । पोस्टमार्टमपछि थप जानकारी खुलस्त हुने प्रहरीले जनाएको छ ।