Trending :
 

राष्ट्रसंघीय महासचिव जापान जाने

श्रावण १७,२०७५

-

साउन १७, २०७५ रासस
 
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मङ्गलबार जापान जाने भएका छन् ।  जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औँ नागासाकी समारोहमा सहभागीता जनाउन उनी जापान जान लागेका हुन् ।  जापानको नागासाकीमा यही अगष्ट ९ मा नागासाकी समारोहको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । 
 
जापानको नागासाकी नगरमा सन् १९४५ को अगष्ट ९ मा अमेरिकी सेनाले एटम बम हानेको थियो । दोस्रो विश्वयुद्धका क्रममा हानेको सो बमबाट त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । 
 
आगामी मङ्गलबार सो आक्रमणको ७३ वर्ष पूरा हुँदैछ । सोही अवसरमा नागासाकीमा उक्त बम हमलाको ७३ औँ स्मरणस्वरुप भव्य समारोहको आयोजना गरिएको छ । 
 
एटम बम हानेर क्षति पुर्याइएको शहर नागासाकीमा पुग्ने गुटर्रेस नै पहिलो राष्ट्रसंघीय महासहचिव हुने छन् । यसअघि सन् २०१० मा राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन जापानको अर्को शहर हिरोसीमाको भ्रमणमा गएका थिए । 
 
जापानको अर्को शहर हिरोसीमामा पनि दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्ट ६ मा अर्को शक्तिशाली एटम बम हानिएको थियो । 
 
नागासाकी भन्दा शक्तिशाली मानिएको सो आक्रमणमा परी लाखौँ नागरिक हताहत भएका थिए । यी दुई आक्रमणपछि अमेरिकाले जापानमाथि बिजय हासिल गरेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य भएको घोषणा गरिएको थियो । 
 
यस विषयमा राष्ट्रसंघमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रसंघीय प्रवक्ता एरी कानेकोले महासचिव गुटर्रेसले नागासाकी भ्रमण गर्नुहुने र त्यस अवसरमा उहाँले दिने सन्देशमा निशस्त्रीकरणको विषयमा जोड दिने जानकारी दिए । 
 
सो समारोहपछि नागासाकीका अधिकारीहरुसँग भेटवार्ता गरी उनीहरुका समस्याका बारेमा जानकारी लिनुका साथै नागासाकीमा भएको नरसंहारको अनुभवबाट आगामी दिनमा निशस्त्रीकरण अपनाउन के कसो गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गर्नुहुने पनि प्रवक्ता कानेकोले बताए ।