Trending :
 

अमेरिकी प्रतिबन्धका कारण ईरानको मुद्रामा इतिहासकै ठूलो गिरावट

श्रावण १७,२०७५

-

साउन १७, २०७५ एजेंसी
 
 
 
२०१५ को आणविक सम्झौताबाट बाहिरिएसँगै अमेरिकाले ईरानमाथि कडा प्रतिबन्ध जारी राखेको छ । यसअघि ईरानको आणविक सम्झौता अनुरुप आणविक गतिविधिमा संलग्न नभएकामा ईरानमाथिको आर्थिक प्रतिबन्ध हटाइएको थियो । तर अन्तिम समयमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई सो सम्झौताबाट बाहिर निकालेपछि प्रतिबन्ध पुनः लागू गरिएको हो । 
 
यसैबेलादेखि घट्दो क्रममा रहेको ईरानी रियालको भाउ आइतबार अनौपचारिक बजारमा मात्र १ लाख १२ हजार पुगेको बताइएको छ । शानिबार भने अमेरिकी एक डलरको मूल्य ९७ हजार मात्र रहेको बोनबास्ट वेबसाइटले देखाएको थियो ।
 
गत अप्रिल महिना देखि नै रियलले आफ्नो आधा भन्दा बढी भाउ गुमाइसकेको बताइन्छ । कमजोर अर्थव्यवस्था र वित्तिय समस्याका कारण लोकल बैंकहरुमा डलरको मागमा अधिक वृद्धि भएपछि यस्तो अवस्था आइलागेको अर्थविद्हरुको भनाइ छ । वास्तवमा प्रतिबन्धको अझ भयानक परिणाम भोग्नुपर्ने डरका कारण पनि ईरानीहरु माझ डलरको भाउ बढ्न पुगेको बताइएको छ ।
 
यसरी मुद्राको भाउमा अप्रत्यासित गिरावट आउनु र सुनको मूल्य अधिक वृद्धि हुनुमा केन्द्रिय बैंकले भने आफ्ना दुश्मनहरुको षड्यन्त्रलाई जिम्मेवार ठहर्याएको छ । बैंकका अनुसार शत्रुहरुले हाल जारी आर्थिक समस्याबारे झन् नकारात्मक खबर फैलाएर जनतामा अनावश्यक डर पैदा गराएका छन् । सरकारले अहिलेसम्म यसमा संलग्न २९ जनालाई पक्राउ गरि मृत्युको सजायँ समेत तोकिसकेको बताइएको छ । त्यसैगरी जारी संकटको फाइदा उठाउँदै अवैध रुपमा लक्जरी गाडी भित्र्याइरहेका १८ अभियुक्तलाई पनि पुलिसले हिरासतमा लिइसकेको बताइएको छ । अझै सरकारले यस्ता अपराधीलाई पक्राउ गर्ने काम जारी राख्ने बताएको छ ।
 
त्यस्तै मुद्राको भाउ घटेसँगै आगामी दिनमा फेरि प्रतिबन्ध थप गरिने अमेरिकाको घोषणाका कारण व्यवसायीहरु पनि प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । अर्कोतर्फ यसले ईरानको तेल निर्यातलाई पनि दुई तिहाईले न्युन गराउने अनुमान गरिएको छ । प्रतिबन्धले ईरानमा उत्पादित कार्पेट, खाद्य वस्तु, कोइला र औद्योगीक सामग्रीहरुको कारोबारमा पनि गम्भीर असर पारिसकेको बताइएको छ ।