छुट्टै राज्य माग्दै दिल्लीमा गोर्खा आदिवासीको धर्ना
-
छुट्टै राज्य माग्दै दिल्लीमा गोर्खा आदिवासीको धर्ना
साउन १७, २०७५ दार्जीलिङ
छुट्टै राज्यको माग गर्दै गोर्खा आदिवासी राजवंशी युनाइटेड फोरमले बुधबारदेखि दिल्लीको जन्तरमन्तरमा धर्ना थालेको छ। उत्तर बङ्गालको प्रस्तावित क्षेत्रलाई समेटेर छुट्टै राज्य गठनको माग गर्दै सुरु भएको धर्ना आजसम्म चल्नेछ।
गोर्खा आदिवासी राजवंशी युनाइटेड फोरमका अध्यक्ष ऋषिका छेत्रीका अनुसार युनाइटेड फ्रन्टले धर्ना प्रदर्शनपछि बिहिबार नै भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री राजनाथ सिंहलाई भारतीय संविधानको प्रावधानअन्तर्गत् छुट्टै राज्य गठन गर्न ज्ञापनपत्र सुम्पिने कार्यक्रम छ ।
‘भारतीय संविधानको प्रावधानअन्तर्गत छुट्टै राज्य गठन गरिनुपर्ने हाम्रो माग हो’, छेत्रीले थपिन्, ‘हामी पनि यो देशका नागरिक हौं, छुट्टै राज्य हाम्रो संवैधानिक अधिकार हो ।’
छेत्री गत वर्षको अन्त्यमा गठन भएको राजनीतिक दल गल्फका पनि महासचिव पनि हुन् । उनका अनुसार केही दिन अघि कोचबिहारमा एक सभा बसेर गोर्खा आदिवासी राजवंशी युनाइटेड फोरम गठन गरिएको हो ।
‘गोर्खा आदिवासी राजवंशी युनाइटेड फोरमको एक मात्र उद्देश्य छुट्टै राज्य गठन गर्नु हो, हामी त्यसका लागि अघि आएका हौं’, छेत्रीले थपिन्, ‘छुट्टै राज्य गठन नभएसम्म हामी सङ्घर्ष गरिरहनेछौं ।’
छेत्रीले छुट्टै राज्यका लागि उत्तर बङ्गालका आदिवासी र राजवंशी समुदायले गोर्खा समुदायलाई ठूलो सहयोग गरिरहेको पनि बताइन् । उनले भनिन्, ‘हाम्रा लागि मात्र होइन, उत्तर बङ्गालका आदिवासी र राजवंशीहरूका लागि पनि छुट्टै राज्यको गठन अत्यावश्यक छ ।’
छेत्रीले आदिवासी र राजवंशीहरूलाई पनि सरकारले दबाएर राखेको’ भन्दै ‘सुनियोजित ढङ्गमा अल्पसङ्ख्यक बनाएर अस्तित्व मेट्ने षड़्यन्त्र गरेको’ बताइन ।
छेत्रीले दिल्लीको धर्ना कार्यक्रममा सहभागिता जनाउन उत्तर बङ्गालका विभिन्न क्षेत्रबाट गोर्खा, आदिवासी र राजवंशी समुदायका मानिसहरू बाक्लो सङ्ख्यामा दिल्ली पुगेको बताइन् ।
युनाइटेड फोरमका महासचिव विप्लव बर्मनले अगुवाइ गरेको बुधबारको धर्ना बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म चलेको थियो ।