Trending :
 

'रातमा एक्लै बसेर निकै रुन्थेँ' आमिर खान :

श्रावण १७,२०७५

-

साउन १७, २०७५ एजेंसी
 
 
अहिलेका सुपरस्टार खान कुनै समय आफ्नो करिअरलाई लिएर एकान्तमा निकै रुने गर्थे भन्दा तपाईंलाई अचम्म लाग्ला तर यो कुरा उनै खानले सार्वजनिक गरेका हुन् ।
 
मुम्बइमा भएको पटकथा लेखकरुको सम्मेलनमा अभिनेता खान अतिथिको रुपमा सहभागी थिए । उनले त्यहाँ पटकथा लेखकसँग आफ्ना धेरै गोप्य कुराहरुको खुलासा गरेका छन् । उनले आफू कसरी बलिउडमा स्थापित भए भन्ने बारेमा पनि कुरा गरे ।
 
अभिनेता खानले नयाँ पटकथा लेखकहरु दुःखी हुन जरुरी नभएको बताए । ‘सुरुवातका दिनहरुमा धेरै कुराहरु आफूले चाहे अनुरुपका हुँदैनन्,’ उनले भने, ‘आफ्नो करिअरको सुरुवातमा धेरैपटक दोस्रो व्यक्तिलाई मन पर्ने कुराहरु गर्नुपर्ने हुन्छ ।’ उनले आफूले सोचेको गर्न नपाएको पनि बताए । उनले भनेका छन्, ‘म दिनमा सुटिङ गर्थे र रातमा सधैंजसो एकान्तमा रुने गर्थेँ ।’
 
आफूले ८,१० वटा फिल्ममा काम गरेपछि फिल्म उद्योगलाई बुझ्न थालेर अहिलेको अवस्थामा आइपुगेको बताए । नयाँ पटकथा लेखकलाई सल्लाह दिँदै उनले भने, ‘सुरुवातमा काम गर्ने बेला लचक हुनुपर्छ, जब नाम स्थापित हुन्छ, काम अरुले मन पराउन थाल्छन् तब आफ्ना कुराहरु पनि अनिवार्य सुनिन्छन् ।’
 
पटकथा लेखकको परिचय स्थापित गर्ने र पारिश्रमिक दिलाउनका लागि यो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बलिउड सिने क्षेत्रसँग जोडिएका थुप्रै दिग्गज पटकथा लेखकको उपस्थिति रहेको थियो । सम्मेलनमा अन्जुम रजवली, सिद्धार्थ राय कपुर, करण सोमेन लगायत थिए ।