Trending :
 

पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनमा विलम्ब

श्रावण १८,२०७५

-

 
 
इस्लामाबाद, पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बलीबाट नयाँ नेता चयन गर्ने पक्रियामा ढिलाइ भएको छ । एक साताअघि सम्पन्न निर्वाचनमा पूर्व क्रिकेट स्टार इमरान खानको पार्टी पाकिस्तान तेहरिक– ई–इन्साफ (पिटिआई) संसदको सबैभन्दा ठूलो दल बनेको थियो ।
 
३४२ सदस्य रहेको एसेम्बलीमा २७२ सिटका लागि भएको प्रत्यक्ष निर्वाचनमा पिटिआईले ११६ ल्याएर संसदको सबैभन्दा ठूलो दल बनेको थियो । तर, सरकार गठनका लागि आवश्यक सामान्य बहुमत नपुगेकाले नयाँ सरकार गठनमा ढिलाइ भएको हो । संसदमा सामान्य बहुमत सिद्ध गर्न १३७ सिट आवश्यक पर्छ ।
 
साना दललाई मनाउँदै खान
 
नयाँ सरकारको नेतृत्वका लागि ठूलो दलको हैसियतमा खानले संसद्मा प्रतिनिधित्व गर्ने साना दल र स्वतन्त्र सांसदहरूलाई मनाउने प्रयास गरिरहेका छन् । निर्वाचनपछि संसद्मा खानको प्रमुख विरोधी पाकिस्तान मुस्लिम लिग (पिएमएल—एन)  दोस्रो स्थानमा खुम्चिएको छ भने युवा नेता बिलावल जर्दारीले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले तेस्रो स्थान सुरक्षित गरेको छ । प्रत्यक्ष निर्वाचनमा पिएमएल एनको ६४ सिट र पिपिपीको ४३ सिट छ ।
 
खानले यी दुवै पार्टीमध्ये एकलाई विश्वासमा लिएर वा गठबन्धन गरेर सत्तामा जाने सम्भावना न्यून छ । निर्वाचन अभियानमा खानको पिटिआईलाई विजयी बनाउन सेनाले प्रमुख विपक्षी दलका नेता कार्यकर्तालाई निसाना बनाएकाले पनि खानले यी दुई पार्टीलाई विश्वासमा लिन वा उनीहरूको समर्थन पाउन कठिन छ ।
 
संसद्मा प्रतिनिधित्व गर्ने स–साना समूह नै सरकार गठनका लागि काफी भएको खानले निष्कर्ष निकालेका छन् । तसर्थ, उनले पहिलो प्राथमिकता साना पार्टीहरूलाई नै दिएका छन् । जम्मा १२ सिट जितेको आइएनडी र ६ सिट भएको एमएमए र अर्को ६ सिट भएको एमएमसँगको गठबन्धनमा सरकार बनाउने खानले तयारी गरेका छन् । त्यस्तै, केही स्वतन्त्र सांसदलाई पनि खानले मनाउन सुरु गरेका छन् ।
 
शपथमा सार्क राष्ट्रका प्रमुखहरूलाई बोलाउने तयारी
 
प्रधानमन्त्रीको शपथ लिँदा इमरान खानले दक्षिण एसियाका राष्ट्रप्रमुखलाई निम्तो दिने पाकिस्तान तेहरिक–ई–इन्साफले तयारी गरिरहेको छ । ६५ वर्षीय खानले यही अगस्ट ११ मा पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिने तयारी भएको बताएका छन् । ‘पाकिस्तानको तेहरिक–ई–इन्साफले खानको शपथ समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत ८ देशका सरकार तथा राष्ट्रप्रमुखलाई बोलाउने तयारी गरेको छ र यसबारे छिटै निर्णय हुनेछ,’ पिटिआईका एक नेताको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
पिटिआई प्रमुख फवाद चौधरीले सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई शपथ समारोहमा बोलाइनेबारेमा पार्टीभित्र छलफल भइरहेको बताए । पाकिस्तानको विदेश मन्त्रालयसँग छलफल गरेर निर्णय गरिने उनले बताए । निर्वाचनपछि भारतीय प्रधानमन्त्री मोदीले खानलाई बधाई दिँदै भारत र पाकिस्तानले द्विपक्षी सम्बन्धमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका थिए ।
 
यस्तो छ कानुनी प्रावधान
 
कुल ३४२ सिट भएको संसद्मा खानले पहिलो चरणमा १७२ वा सोभन्दा बढी सिट जुटाउन सकेमा राष्ट्रपतिले देशको नयाँ प्रधानमन्त्रीको शपथका लागि आह्वान गर्न सक्नेछन् । तर, सरकार गठनका लागि खानले आवश्यक बहुमत जुटाउन नसके संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रधानमन्त्रीका लागि दोस्रो चरणको मतदान हुनेछ । यस चरणमा प्रधानमन्त्रीका लागि चुनिन कम्तीमा १७२ सिट आवश्यक पर्दैन ।
 
संसद्मा बहुमत सिद्ध गर्ने नेता प्रधानमन्त्री हुनेछ, तर उसले १५ दिनभित्र संसद्बाट विश्वासको मत लिुनपर्नेछ । अर्को कानुनी प्रावधान यो पनि छ कि दुईवटा स्थानमा निर्वाचन स्थगित भएकाले संसद्को कुल सदस्य संख्या ३४० हुनेछ । यस नयाँ प्रावधानलाई सभामुखले स्वीकार गरेमा विजेताले पहिलो चरणको निर्वाचनमा १७१ सांसदको समर्थन जुटाए पनि प्रधानमन्त्रीमा निर्वाचित हुन सक्नेछ ।