आर्थिक प्रसङ्ग
बैशाख १९,२०७४
-
१९,वैशाख,२०७४-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा आएको गतिरोधले स्थानीय व्यवसायी निरास बनाएको छ। आयोजनाको मुख्य ठेकेदार चिनियाँ नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुप र सहठेकेदार कम्पनीबीच लेनदेन विवादले आयोजना प्रभावित भएको छ । विवादका कारण केही महिनायता काम हुन सकेको छैन ।
आयोजना अवरोध हुनुमा कुन पक्ष जिम्मेवार छ ? त्यसको निक्र्योल गरी आयोजनालाई अब तीव्र गतिमा अगाडि बढाउन सरकारले नै हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने माग व्यवसायीको छ । अध्यक्ष् रामकुमार शर्माका अनुसार विमानस्थल निर्माण सुरु भएलगत्तै भैरहवा लगायतको क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।
विशेषगरी पर्यटन उद्योगको क्षेत्रमा धेरै लगानी भएका छन् । ‘निर्माणका क्रममा कुन पक्षको कमजोरी छ ? त्यो पत्ता लगाएर सरकारले कारबाही गरोस्,’ शर्माले भने, ‘तर, आयोजना कुनै पनि हालतमा निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ ।’ त्यस्तै आयोजना बनाउन सुरु गर्दा तोकिएको समयसीमा सकिन १४ महिना मात्रै बाँकी छँदा चिनियाँ ठेकेदार र आफैंले राखेको स्थानीय सहठेकेदार कम्पनी नर्थवेस्ट इन्फा नेपाल प्रालिसँग लेनदेनको विवादले करिब डेढ महिनादेखि आयोजनाले गति लिन सकेको छैन ।
विवाद टुंगो नलागे पनि आफ्नै व्यवस्थापनबाट निर्माण कार्यलाई तीव्रता दिने भन्दै आएको चिनियाँ ठेकेदार लामो समयसम्म पनि द्रुत गतिमा काम अगाडि बढाउन नसक्नुले उसको क्षमतामाथि प्रश्न उब्जिन थालेको छ । सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सरकारले ठेक्का दिएको आयोजनालाई सम्पन्न गराउने दायित्व पनि सरकारकै भएको बताउँछन् ।
‘यति लामो गतिरोध हुँदा सरकार पनि आफ्नो जिम्मेवारीप्रति मौन छ,’ श्रेष्ठले भने, ‘यो विमानस्थल पर्यटन क्षेत्रका लागि मुलुककै ठूलो भौतिक पूर्वाधारका रूपमा छ ।’ बुद्ध जन्मस्थल लुम्बिनीको सामिप्यमा रहेको यो आयोजना सम्पन्न भएपछि आन्तरिक र विश्वका प्रमुख बौद्ध धर्मावलम्बी मुलुकबाट पर्यटक सीधै हवाई उडानबाट आउन सक्ने भएकाले पर्यटन व्यवसायको उज्यालो भविष्य देख्दै धेरै पर्यटन व्यवसायीको लगानी यस क्षेत्रमा छ ।
त्यसैगरी स्तरीय होटल निर्माणमा स्वदेशी र विदेशी लगानी भित्रिएको छ । जग्गाको मूल्य बढेकाले ग्रामणी क्षेत्रका किसानको समेत आर्थिक स्तरमा बढेको थियो । ‘यो आयोजनाले यस क्षेत्रलाई आर्थिक रूपमा ऊर्जावान् बनाएको थियो,’ उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले भने, ‘गतिरोधले सबैलाई निरास बनाएको छ ।’
प्रमुख समाचार