म केही महिनामा मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिइरहेको छः इरफान खान
-
साउन १९, २०७५ एजेंसी
लण्डनमा न्यूरोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ । हालै उनले असोसिएटेड प्रेसलाई एक अन्तर्वार्ता दिएका छन् जसमा उनले मुख्यतः आफ्नो स्वास्थ्यबारे कुराकानी गरेका छन् ।
केमोका चारवटा सेसन पूराः
इरफानले आफ्नो केमोको ६ वटा सेसन मध्ये चारवटा पूरा भएको बताएका छन् । ६ सेसन पूरा भएपछि पुनः क्यान्सरको स्क्यान गर्नुपर्ने उनले जानकारी दिए । आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउँदै उनले अन्तर्वार्तामा भने, ‘तेस्रो सेसन पछि गरिएको स्क्यानको रिजल्ट सकारात्मक आयो । तर पनि हामीले छैठौं सेसनको रिजल्ट हेर्नुपर्छ । त्यसपछिको रिजल्टले मलाई कहाँ पुर्याउँछ, त्यो हेर्न बाँकी नै छ ।’
जीवनको अनिश्चितता बारे कुरा गर्दै उनले भने, ‘कसैको जीवनको ग्यारेन्टी हुँदैन । मेरो दिमागले सधैं मलाई मेरो रोगबारे अवगत गराउँछ र केही महिना, एक वा दुई वर्षभित्र म मर्न सक्छु भनी याद दिलाउँछ । अथवा म आफ्नो दिमागले भनिरहेको कुरालाई पूर्ण रुपमा खारेज गरेर त्यसरी बाँच्न सक्छु जसरी जिन्दगीले मलाई बाँच्ने बाटो देखाइरहेको छ । साँच्चै जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि चारैतर्फ अन्धकारले भरिएको बाटोमा म हिँडिरहेको छु । जिन्दगीले मलाई के दिइरहेको छ, त्यो म देख्न सक्दिनँ ।’
इरफान थप्छन्, ‘तपाईं सोच्न छोड्नुहुन्छ, योजना बनाउन छोड्नुहुन्छ, अनावश्यक कराउन छोड्नुहुन्छ । तपाईंले जीवनको अन्य पाटो हेर्न थाल्नुहुन्छ । जीवनले तपाईंलाई धेरै दिएको छ । यसले तपाईंलाई धेरै कुरा उपलब्ध गराएको हुन्छ । त्यसकारण मलाई लाग्छ कि मसँग धन्यवाद बाहेक अरु कुनै शब्द नै छैनन् । केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन ।’
फिल्मका स्क्रिप्ट पढिरहनुभएको छ भन्ने प्रश्नमा इराफान भन्छन्, ‘छैन, म यसबाट पूर्ण रुपमा बाहिरिएको छु । यो वास्तविकता र भ्रमको सही अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन सधैं यस्तै नै रहिरहनेछ तर मैले कहिले पनि अप्रत्याशित र असामान्य घटनाको अभ्यास गर्न सक्दिनथें । र अहिले जे भइरहेको छ त्यसका लागि मैले कुनै योजना बनाएको थिइनँ । म ब्रेकफास्टका लागि जान्छु, त्यसपछि मेरो कुनै योजना हुँदैन । जीवनले मलाई जस्तो दिइरहेको छ, त्यसरी नै लिइरहेको छु ।
यसैले मलाई निकै सहयोग गरिरहेको छ । म योजना बनाउदिनँ । मैले जीवनलाई निरन्तरता मात्र दिइरहेको छु र यो अनुभव मलाई मन परिरहेको पनि छ । मेरो जीवनमा केही कुराको कमी थियो । मैले आफैंलाई नष्ट गरिरहेको छु जस्तो लाग्थ्यो । मभित्र एक अन्तरद्वन्द्व हुन्थ्यो । यसले नै मलाई तनाव दिइरहेको थियो । र मलाई लाग्छ कि म जीवनमा यही सहजता मिस गरिरहेको थिएँ ।