Trending :
 

इमरान खानको शपथ केही दिन धकेलिन सक्ने

श्रावण २१,२०७५

-

साउन २१, २०७५ एजेंसी 
 
 
पाकिस्तान तेहरिक–ई–इन्साफ (पिटिआई) का नेता इमरान खानको प्रधानमन्त्रीको शपथ केही दिन पछाडि धकेलिने संकेत देखिएको छ । खानले ११ अगस्टमा प्रधानमन्त्रीको शपथ लिने भनिए पनि केही दिन पछाडि धकेलिने भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । शपथ समारोह १४ वा १५ अगस्टमा सर्ने सम्भावना बढेको हो । एक साताअघि सम्पन्न निर्वाचनमा खानको पिटिआईले ११५ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको छ । सरकार गठनका लागि स–साना पार्टीले सहयोग गरेको र खानको पक्षमा १७२ सांसदको समर्थन रहेको पिटिआईले दाबी गरेको छ ।
 
 
कानुनमन्त्री अली जफरले भने, ‘खानले स्वतन्त्रता दिवसको अवसरमा आगामी १४ अगस्टमा प्रधानमन्त्रीको शपथ लिनु उपयुक्त हुन्छ, ताकि नयाँ सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न सकोस् ।’ कार्यबाहक प्रधानमन्त्री नासिरुल मुल्कले पनि खानले स्वतन्त्रता दिवसमा शपथ खानुपर्ने बताएका छन् । संविधानअनुसार निर्वाचन सम्पन्न भएको २१ दिनभित्र तल्लो सदन नेसनल एसेम्बलीको पहिलो बैठक बोलाउनुपर्छ ।
 
इमरानको शपथ समारोहमा भाग लिन भारतबाट पूर्वक्रिकेटर कपिल देव, सुनील गावस्कर, पूर्वक्रिकेटर नवजोत सिंह सिन्धुलगायत सहभागी हुँदै छन् । शपथ समारोहमा सार्क राष्ट्रका नेतालाई बोलाउने तयारी गरिएको बताइए पनि यसबारे पाकिस्तानको विदेश मन्त्रालयले निर्णय गरिसकेको छैन ।
 
प्रधानमन्त्रीको उम्मेदवार घोषणा आज
 
तेहरिक–ए–इन्साफ (पिटिआई) ले अध्यक्ष इमरान खानलाई आज औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै छ । सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्ने पार्टी प्रवक्ता फवाद चौधरीले जानकारी दिए । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ । ‘पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ,’ उनले भने ।
 
खानको नेतृत्वमा सरकार गठनका लागि आवश्यक सांसदको संख्या पुगेको उनले दाबी गरे । संघीय संसद्मा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धन पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको उनले बताए । बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्ने बताइएको छ । पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआई सबैभन्दा ठूलो पार्टी भएको थियो । खानले १५ देखि २० सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।