Trending :
 

पर्यटन विकास

माउन्ट एभरेस्ट ग्रुपले पर्यटन क्षेत्रमा लगानी

बैशाख १९,२०७४

-

१९,वैशाख-

विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको सक्रियतामा स्थापना गरिएको माउन्ट एभरेस्ट ग्रुपले स्वदेशमा पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । दिगो पर्यटन विकासको कार्यसूची मुलुकको पहिलो सशक्त बहुराष्ट्रिय कम्पनी बन्ने उद्देश्यले नेपालमै केन्द्रीय कार्यालय खोलेर ‘एमई ट्राभल एन्ड टुर्स’ स्थापना गरी कारोबार सुरु गरेको छ ।

अन्तर्राष्ट्रियरुपमा छरिएर बसेका गैरआवासीय नेपालीले विदेशमा बसेर सिकेको सेवा, सीप, कला, साहित्य तथा आर्जन गरेको रकमलाई स्वदेशमा लगाउने उद्देश्यले संस्था स्थापना गरिएको हो । लाजिम्पाटबाट सञ्चालित उक्त ट्राभल एन्ड टुर्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवाग्राहीलाई अधिकतम सुविधा उपलब्ध गराउने रणनीति लिएको छ ।

अहिले एसियाका केही मुलुकका साथै युरोप, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत मुलुकमा कम्पनीको विस्तार गरिने संस्थाका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि फ्रान्समा बसोबास गरी सफल उद्यमीका रुपमा स्थापित हुनुहुन्छ ।

संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा सेवाग्राहीलाई मुलुकका विभिन्न स्थानको भ्रमणका लागि आवश्यक स्थानको उचित र यथार्थ सूचना, होटल बुकिङ, भ्रमणका आकर्षक प्याकेज, पर्यटकको सुरक्षाको व्यवस्थापनका साथै उनीहरुलाई आवश्यक सवारीसाधनको समेत प्रबन्ध गर्ने संस्थाले जनाएको छ ।

विभिन्न ४२ देशमा रहेका गैरआवासीय नेपालीको उक्त संस्थामा लगानी रहेको छ । आगामी दिनमा संस्थाले कृषि, शिक्षा, बजार व्यवस्थापनलगायतका क्षेत्रमा ‘एमई हस्पिटालिटी’, ‘एमई एजुकेसनल इन्स्टिच्युसन’, ‘एमई सुपर मार्केट’ र ‘एमई एग्रो’का नामबाट लगानी गर्दै लैजाने योजना रहेको संस्थाका नेपालस्थित निर्देशक युवराज पराजुलीले बताउनुभयो ।