Trending :
 

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

श्रावण २१,२०७५

-

साउन २१, २०७५ काठमाडौँ
 
 
ऐतिहासिक अन्तराष्ट्रिय एकदिवसीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान जेट एयरलाइन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले भव्य स्वागत गरेका थिए ।
 
नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सबिरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो । दुई एकदिवसीय खेलको श्रृङखलामा नेपालले १–१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
 
 
त्यसअघि नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लर्ड्समा नेदरल्याण्ड्स, मेरिलेवोन क्रिकेट क्लव एमसिसीसँग मैत्रीपुर्ण टि–ट्वान्टी सिरिज खेलेको थियोे । वर्षाले प्रभावित सिरिजमा नेपाल र नेदरल्याण्ड्स संयुक्त रूपमा विजयी भएका थिए ।
 
पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा जित हासिल गरेपछि नेपाली टोली निकै उत्साहित छ । कप्तान पारस खड्काले पनि पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिनु भयो । उनले लड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले आफूहरु उत्साही भएको बताए ।
 
एसियाकप छनोट नजिकै आइरहेको अवस्थामा पहिलो सिरिजको राम्रो प्रदर्शनले भविष्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताए । उनले एसिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको र त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्ने आवश्यकता औंल्याए ।
 
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा भने नेदरल्याण्ड्सविरुद्धको सिरिज नेपाली क्रिकेटको स्तरोन्नतिका लागि महत्वपूर्ण रहेको बताए । प्रशिक्षक टमाटाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँ रहेको पनि स्विकार गरे । उनले विश्व क्रिकेटकै पावर हाउस मानिने भारत, पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा गर्नका लागि एसिया कप छनोटमा शतप्रतिशत प्रदर्शन गर्ने बताए ।
 
आगामी अगष्ट २९ देखि नेपालले मलेसियामा एशिया कप छनोट खेल्दैछ । पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ । अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०को सामना गर्नेछ । सेप्टेम्बर १ मा घरेलु टोली मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ । यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आसन्न एशिया कप क्रिकेट खेल्नेछ । जहाँ एशियाका पाँच टेष्ट मान्यता प्राप्त मुलुकका टोलीसँग प्रतिस्पर्धा हुनेछ ।