Trending :
 

आमाका लागि अझै प्यारा छन् ओसामा बिन लादेन

श्रावण २१,२०७५

-

साउन २१, २०७५ एजेंसी
 
 
विश्वकै सबैभन्दा खतरनाक आतङ्ककारीका रुपमा परिचित ओसामा बिन लादेनकी आमाले २०११ मा उनको मृत्युपछि पहिलोपटक उनीबारे अन्तर्वार्ता दिएकी छन् । तर ७० वर्षीया आलिया घानेमले आफ्ना छोरा आतङ्ककारी समूह अलकायदाका प्रमुख भएपनि उनको सकारात्मक व्याख्या मात्र गरेकी हुन् ।
 
२००१ मा वल्र्ड ट्रेड सेन्टर हमलाका प्रमुख नेतृत्वकारी बिन लादेनलाई विश्वकै सबैभन्दा भयानक अपराधीका रुपमा चित्रण गरिन्छ किनकी उनी प्रत्यक्ष लडाईँमा सहभागी नभएपनि चलाखीपूर्वक षड्यन्त्र रचि आतङ्क फैलाउने काम गर्दथे । तर उनकी आमा आलियाले भने अझै आफ्ना छोराको राम्रो पक्ष मात्र देखेको बताउँछिन् र छोरा लादेनप्रतिको उनको माया पनि अझै कम नभएको सो अन्तर्वार्ताबाट प्रष्ट भएको हो । द गार्जियनसँगको उक्त अन्तर्वार्तामा उनले बिन लादेनलाई एकदमै सिधा र ज्ञानी बालकका रुपमा व्याख्या गरेकी छन् । 
 
यसरी पहिलोपटक साउदी अरबमा उनको घरबाटै अन्तर्वार्ता लिइएको हो । उनी बस्ने जेद्दा क्षेत्रमा उनलाई सबैले चिन्ने गरेका छन् । आमा आलियाका अनुसार बिन लादेन अब्दुललजिज युनिभर्सिटी जानु अघिसम्म अत्यन्तै राम्रो विद्यार्थी थिए जहाँ उनी अर्थशास्त्रको पढाइ पूरा गरिरहेका थिए । तर त्यहाँको वातावरणका कारण उनको व्यवहार र व्यक्तित्वमा अप्रत्यासित परिवर्तन आएको उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँ पुगेर ऊ अर्कै मान्छे भयो । त्यहाँका मान्छेले उसको मानसिकता नै फरक बनाइदिए ।’ 
 
यसैकारणले गर्दा २० वर्षको नहुँदै उनी नराम्रो संगतको शिकार भइ आपराधिक गतिविधिमा संलग्न हुन थालेको उनले बताएकी हुन् । त्यसैबेलादेखि उनी धर्म संप्रदायको समर्थक बनेको बताइन्छ । उनी भन्छिन्, ‘मैले उसलाई कैयौँ पटक खराब प्रवृत्तिका साथीहरुबाट छुट्याउन खोेजेँ तर हरेकचोटी म असफल हुनुपर्यो । त्यतिबेला हामी अत्यन्तै दुःखी भएका थियौँ ।’ 
 
उनको परिवारले बिन लादेनलाई यसअघि सन् १९९९ मा अफगानिस्तानमा देखेको थियो । 
 
बिन लादेनका पिताले आलियासँग डिभोर्स गरिसकेपछि ११ जनासँग विवाह गरेका थिए जसबाट उनका ५४ छोराछोरी छन् । 
 
आलियाका अन्य दुई छोराले बताए अनुसार अझै पनि उनी बिन लादेनबारे गलत खबरहरुलाई स्वीकार गर्न मान्दिनन् । आलियालाई उनका सबै राम्रा पक्षबारे मात्र थाहा भएकाले उनले बिन लादेनलाई सधैँ उनी सानो हुँदाको अवस्थासँग नै तुलना गर्ने गरेको बताइएको छ । 
आलियाका अनुसार खराब प्रभावका कारण उनी भयानक अवस्थामा पुगेका हुन् । र यसमा उनको परिवारको कुनै हात छैन । 
 
वास्तवमा यत्तिका वर्षसम्म बिन लादेनको विषयमा कुनै बयान दिन नमानेकी आलियाले ट्रेड सेन्टरको हमलामा परिवारको पनि भूमिका थियो भन्ने हल्लालाई गलत ठहर्याउन र सत्यको खुलासा गर्न सो अन्र्तवार्ताका लागि सहमत भएको बताएकी हुन् । छोराले आफूलाई धेरै माया गर्ने हुनाले नै कोसँग मिलेर के गरिरहेको छ भन्ने कहिल्यै नसुनाउने गरेको उनले भावुक हुँदै बताएकी हुन् । उनी जिहादी भएको खबरले अहिलेसम्म पनि उनको मनमा ठूलो धक्का पुग्ने गरेको उनी बताउँछिन् ।