युरोप भ्रमण उत्साहजनक भयो : पारस खड्का
-
साउन २१, २०७५ काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको युरोप भ्रमण उत्साहजनक भएको प्रतिक्रिया दिएका छन्।
ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय सिरिज खेलेर सोमबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै खड्काले पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिँदै उनले लड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले आफूहरु उत्साही भएको बताएका हुन्।
एशियाकप छनोट नजिकै आइरहेको अवस्थामा पहिलो एकदिवशीय सिरिजको राम्रो प्रदर्शनले भविश्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान खड्काले बताए। उनले एशिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको र त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्ने आवश्यकतासमेत औल्याए।
कप्तान खड्काले एसिया कपको छनोटमा उत्कृष्ट प्रर्दशन गरेर त्यो अवसरलाई प्राप्त गर्न कोशिश गर्ने बताए ।
एसिया कपको छनोटमा हङकङ, ओमान र युएई जस्ता राम्रा टोली सहभागि हुने उल्लेख गर्दै उनले सबै टोलीले एक अर्कालाई चुनौती दिन सक्षम रहेको धारणा राखे।
‘एसिया कपको छनोटमा सबैले एक अर्कालाई चुनौती दिन सक्छन्,’ उनले भने, ‘हाम्रो लागि एउटा ठूलो अवसर अगाडि आएको छ। छनोट प्रतियोगिता जितेर अवसरलाई आफ्नो पक्षमा पार्नेछौ।’
अगष्ट अन्तिम साता मलेसियामा हुने एसिया कप छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्दैछन्। छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्।