बंगलादेशमा अमेरिकी राजदूतमाथि आक्रमण
-
साउन २२, २०७५ एजेंसी
बंगलादेशका लागि अमेरिकी राजदूत मार्सिया बर्निकेट सवार गाडीमाथि आन्दोलनकारीले सोमबार आक्रमण गरेका छन् । यस घटनामा राजदूत बर्निकेट र उनका सुरक्षकर्मीलाई केही नभएको दूतावासका एक अमेरिकी अधिकारीले मिडियालाई जानकारी दिएका छन् । घटनामा दुईवटा कारमा क्षति पुगेको उनले बताए । घटनापछि सुरक्षाकर्मीले चलाएको कारबाहीमा ५० प्रदर्शनकारी घाइते भएका छन् ।
पछिल्लो समयमा ढाकामा विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरूले छात्र तथा स्कुले बच्चाहरूको सुरक्षा व्यवस्था कडा हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् । आन्दोलित विद्यार्थीहरूलाई साम्य पार्न आइतबार सुरक्षाकर्मीले टियर ग्यास प्रयोग गरेका थिए । त्यसपछि सोमबार आन्दोलन झनै उग्र बनेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । आन्दोलन भइरहेको स्थानमै अमेरिकी राजदूत बर्निकेटको सवारी भएको थियो ।
आन्दोलनकारीमध्ये नै केही व्यक्तिहरूले राजदूत सवार गाडीमै ढुंगामुढा गरेका थिए । राजदूत बर्निकेटको सुरक्षा गर्न तत्कालै सुरक्षाकर्मीले कारबाही गर्यो । यता स्थानीय मिडियाका अनुसार आन्दोलनरत विद्यार्थीको समूहमा बाहिरका व्यक्ति प्रवेश गरेका हुन् । उनीहरूले बंगलादेशका लागि नियुक्त अमेरिकी राजदूत बर्निकेटमाथि आक्रमण गरेको स्थानीय मिडियाको भनाइ छ ।
राजदूतद्वारा भर्त्सना
आक्रमणबाट बचेकी अमेरिकी राजदूत बर्निकेटले घटनाको आलोचना गर्नुका साथै कडा रूपमा भर्त्सना गरेकी छिन् । दूतावासको आधिकारिक फेसबुक पेजमा बर्निकेट लेख्छिन्, ‘लोकतान्त्रिक राष्ट्रमा शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न सकिन्छ र आफ्ना माग पनि सहजै राख्न सकिन्छ, तर हजारौँ युवाले आफ्नो अधिकारभन्दा बाहिर गई आन्दोलन गरिरहेका छन्, यो सही निर्णय होइन ।’
अहिले छात्र तथा स्कुले बालकहरूको नेतृत्व गरिरहेकाहरूले सडकमा कब्जा जमाएर बसेको उनको भनाइ छ । ‘पछिल्लो दुई सातामा बंगलादेश सरकार नै आन्दोलनमा केन्द्रित भएको देखेको छु, ती व्यक्तिहरूले सडक कब्जा जमाएर आन्दोलन गरिरहेका छन् ।’
प्रधानमन्त्रीद्वारा शान्त रहन आग्रह
बंगलादेशी प्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेकी छिन् । प्रधानमन्त्री हसिनाले शान्तिपूर्वक वार्ता गर्न सकिने बताइन् । ‘हामी शान्तिपूर्ण रूपले वार्ता गर्न सक्छौँ,’ उनले भनिन्, ‘सडक आन्दोलनले मात्र सबै सम्भव हुँदैन ।’ प्रधानमन्त्री हसिनाले राजदूतमाथि भएको घटनाप्रति दुःख जनाइन् ।
यता, गृहमन्त्री असदुज्जामान खानले आन्दोलनकारीलाई चेतावनी दिँदै तत्कालै आन्दोलन रोक्न निर्देशन दिएका छन् । ‘नियम कानुनभन्दा कोही पनि माथि रहन सक्दैन, त्यो सीमा पार गर्ने जोकोही पनि कारबाहीमा पर्न सक्छ,’ गृहमन्त्री खानले भने, ‘हामी त्यो कडा कदम प्रयोग गर्न विवश हुन्छौं।’