जहाँ लाग्ने गर्छ बिहेको हाटबजार

श्रावण २२,२०७५

-

साउन २२, २०७५ एजेंसी
 
 
खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लाग्नु छ स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ ।
 
सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ ।
 
सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शनिबार उक्त बजार लाग्ने गर्दछ । चाहे जाडो होस् वा गर्मी वा झरी जुनसुकै हालतमा बिहेको हाटबजार लागेकै हुन्छ ।
 
बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ । स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार सुरु भएको हो ।
 
स्मरणरहोस् पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो । मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवारको कुरा गर्दथे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे ।
 
विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले । जुन अहिले त वैवाहिक सम्बन्ध जोड्ने बजारको रुपमै विकास भएको छ ।
 
यो बजारमा मानिसहरु सडक किनारामै एउटा कागजको पानामा चिनियाँ भाषामा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ । यहाँबाट विवाह योग्य केटाकेटीका बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त बर बधु खोज्नका बायोडाटा लैजान्छन् र चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ ।
 
पछिल्लो समयमा चीनमा लैंगिक अनुपात असन्तुलन भइरहेको अवस्थामा यो बजार निकै चम्किएको छ ।