Trending :
 

किन बन्दै छ बंगलादेशको जनजीवन अस्तव्यस्त ?

श्रावण २३,२०७५

-

साउन २३, २०७५ एजेंसी
 
सवारी दुर्घटनाका दोषीलाई कडा सजाय हुनुपर्ने आन्दोलनरत विद्यार्थीको  मुख्य माग-
 
 
प्रदर्शनका कारण राजधानी ढाकाको जनजीवन अस्तव्यस्त बनेको छ । प्रदर्शनपछि सरकारले सडक यातायातसम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानुनको मस्यौदालाई सरकारले अन्तिम रूप दिएको हो ।
 
कसरी सुरु भयो प्रदर्शन ?
 
जुलाई अन्तिम साता राजधानी ढाकामा तीव्र गतिमा हुइँकिएको एउटा गाडीले स्कुले छात्र र छात्रालाई किचेपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । अर्को बसलाई उछिनेर यात्रु ‘छोप्ने’ क्रममा चालकले नियन्त्रण गुमाउँदा सो बस दुर्घटनामा परेको थियो ।
 
सवारी दुर्घटनामा हरेक वर्ष ४ हजार पैदलयात्रीको ज्यान जाने ढाकामा सो दुर्घटना कुनै अनौठो थिएन । तर, दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा तीव्र आक्रोश बढेको थियो र विद्यार्थीहरू हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए । दशौँ हजार विद्यार्थीले ढाकामा भेला भएर सवारीसाधन ठप्प मात्र पारेनन्, आममानिसको दैनिकी नै अस्तव्यस्त बनाए । प्रदर्शनकारीले आफूखुसी ट्रक, बस र कारलाई नियन्त्रणमा लिएर चालकको लाइसेन्ससमेत परीक्षण गरे । सवारीसाधन चलाउन उपयुक्त छ-छैन भनेर पत्ता लगाउन उनीहरूले सडकमै परीक्षण गरे ।
 
किन मच्चियो हिंसा ?
 
बंगलादेशको इतिहासमा नै दुर्लभ मानिएको सो प्रदर्शन विगत एक सातादेखि निरन्तर जारी छ । हजारौँ विद्यार्थी र सर्वसाधारणले राजधानी ढाकालाई ठप्प बनाएका छन् । प्रदर्शनका कारण राजधानी ढाका र ढाकाबाट अन्य स्थानमा गुड्ने सवारी रद्द भएका छन् । शनिबारदेखि प्रहरीले प्रदर्शनकारीमाथि टियरग्यास र रबरका गोली प्रहार गरेको थियो ।
 
प्रहरीको गोली लागेर दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रदर्शनकारी र सरकारसमर्थित समूह बंगलादेश छात्र लिग (बिसिएल) बीच ठाउँठाउँमा झडपमा भएका छन् । बिसिएल सत्तासीन अवामी लिगको भ्रातृ संगठन हो । विद्यार्थीको प्रदर्शन मंगलबार पनि जारी छ । विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच भएको झडपमा ४० विद्यार्थी घाइते भएका छन् ।
 
सामाजिक सञ्जालमा ऐक्यबद्धता
 
प्रदर्शनमा किशोर–किशोरी तथा युवायुवतीको सहभागिता छ । आन्दोलन चर्काउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको छ । सरकारी दमनविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताले ऐक्यबद्धता जनाएका छन् । दोषीमाथि कारबाही र सडकसम्बन्धी कडा कानुन नबनेसम्म आन्दोलनलाई निरन्तरता दिने प्रदर्शनकारी विद्यार्थीले जनाएका छन् । सरकारी दमनविरुद्ध आवाज उठाउन सामाजिक सञ्जाल प्रयोगकर्ताले स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आह्वान गरेका छन् ।
 
सञ्चारकर्मीमाथि पनि आक्रमण
 
सत्तारुढ अवामी लिगआबद्ध भ्रातृसंगठनले विद्यार्थी आन्दोलन दबाउन सर्वसाधारणलाई आह्वान गरेको छ । आन्दोलनबारे समाचार संकलन गरिरहेका सञ्चारकर्मीलाई बिसिएलले आक्रमण गरेको छ । त्यस्तै, फोटो पत्रकारमाथि कुटपिट भएको छ ।
 
सामाजिक सञ्जालमा गलत सूचना पोस्ट गरेको र झुट प्रचार गरेको आरोपमा चर्चित अधिकारवादी तथा फोटोग्राफर साहिदुल अलाम पक्राउ परेका छन् । एउटा विदेशी टेलिभिजनसँगको अन्तर्वार्तामा सरकारको विरोध गरेपछि उनी केही दिनअघि पक्राउ परेका हुन् । एम्नेस्टी इन्टरनेसनलले उनको शीघ्र रिहाइको माग गर्दै विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन रोक्न आह्वान गरेको छ । हिंसाबीच शनिबार राति सशस्त्र समूहले बंगलादेशका लागि अमेरिकी दूत चढेको सवारीसाधनमा आक्रमण गरेका थिए ।
 
आन्दोलनबाट के उपलब्धि भयो ?
 
विद्यार्थीको आन्दोलनलाई मध्यनजर राख्दै सरकारले सडक सुरक्षासम्बन्धी कडा कानुन ल्याउने वाचा गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले सडक यातायातसम्बन्धी नयाँ ऐनलाई स्वीकृति जनाएको छ । विद्यार्थी प्रदर्शन साम्य पार्न सुनियोजित रूपमा गरिने सडक दुर्घटनाका दोषीलाई मृत्युदण्डसम्मको सजाय तोक्ने योजना सरकारले गरिरहेको छ ।
 
तर, प्रधानमन्त्री सेख हसिना वाजिद सरकारविरुद्धको प्रदर्शन तत्काल अन्त्य हुनुपर्ने अधिकारीहरूले बताएका छन् । प्रदर्शनकारीका गतिविधि नियन्त्रण गर्ने पहलस्वरूप सरकारले आइतबारदेखि थ्री जी र फोर जी इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री हसिनाले शनिबार विद्यार्थीलाई आन्दोलन रोक्न अनुरोध गरेकी थिइन् । विद्यार्थी आन्दोलन दबाउन सडकमा भेला भएका पार्टी कार्यकर्ताको अवामी लिगले बचाउ गरेको छ ।